अन्नपूर्ण पोष्टका प्रधानसम्पादक थापा पुरस्कृत


विराटनगर, १९ माघ। अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक हरिबहादुर थापा ‘नोना कोइराला समृति पत्रकारिता पुरस्कार’ बाट आज सम्मानित हुनुभएको छ । पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

त्यस्तै ‘नोना कोइराला समृति सामाजिक सम्मान’बाट तोरेन्द्रमान सिंह प्रधान, राधाप्रसाद घिमिरे, बनि नेपाल, गोपाल शर्मा र नारायणप्रसाद आर्याल सम्मानित हुनुभएको छ ।

नोना कोइरला स्मृति प्रतिष्ठान नेपालद्वारा आज यहाँ आयोजित १२औँ नोना कोइराला समृति दिवस–२०७५ ‘पत्रकारिता पुरस्कार तथा सामाजिक सम्मान समारोह’ मा उहाँहरुलाई पुरस्कार र सम्मान पत्रबाट सम्मान गरिएको हो ।

सो अवसरमा प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुुर तुम्वाहाङले राजनीतिक आन्दोलनको उचाइ बढाउन र आम नागरिकलाई सचेत एवं सजग बनाउन स्वर्गीय नोना कोइरालाको योगदान अविष्मरणीय छ भन्नुभयो ।

नेपाली काङ्ग्रेसको इतिहास स्व कोइरालाको विना अधुरो छ भन्दै उहाँले स्व कोइरालाप्रति श्रद्धासुमन व्यक्त गर्नुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं प्रतिष्ठानका संरक्षक डा शेखर कोइरालाले संस्कार एवं नैतिकताविनाको राजनीतिको कुनै अर्थ नरहने बताउनुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी, प्रदेशसभा सदस्य केदार कार्की, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेल, प्रतिष्ठानका सदस्य निर्मला कोइरालाले स्व कोइरालाको योगदानका विविध पक्षमाथि प्रकाश पार्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement