कालीगण्डकी उपत्यकाको समृद्धिका लागि घोषणापत्र जारी
बेझाड, १९ माघ । कालीगण्डकी उपत्यकाको समृद्धिका लागि छबुँदे रामपुर घोषणापत्र जारी गरिएको छ ।
रामपुर नगरपालिकाको आज आयोजनामा ‘कालीगण्डकी उपत्यकाको समृद्धिका लागि एकीकृत प्रयास’ विषयक अन्तर स्थानीय तह गोष्ठीमा पाँचबुँदे घोषणापत्र जारी गर्दै गोष्ठी सकिएको छ ।
कालीगण्डकी बेसी क्षेत्र पाल्पाको रामपुर नगरपालिका, रम्भा गाउँपालिका, निस्दी गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिका, तनहुँको घिरिङ गाउँपालिका, नवलपुरको बौदिकाली गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रदेश सभासद्, पत्रकार लगायतको सहभागितामा पाँचबुँदे घोषणापत्र जारी गरिएको हो ।
घोषणापत्रमा राम्दीदेखि देवघाटसम्मका क्षेत्रलाई समेटी कालीगण्डकी उपत्यकाको नामाकरण गर्नुपर्ने, सबै स्थानीय तहका प्रमुख वा अध्यक्ष पदेन सदस्यमा रहने गरी कालीगण्डकी एकीकृत विकास समिति गठन गर्ने, साथै समितिमा सङ्घीय सांसद, प्रदेश सांसद, संविधानसभाका सदस्यहरु पनि पदेन सदस्यमा रहने सहमति भएको छ ।
आधुनिक शहर निर्माण गर्न उपत्यकाको एक विकास प्राधिकरण गठन गर्न नेपाल सरकारलाई प्रस्ताव पेश गर्ने, पहिलो भेलामा उठेका नदी, यातायात, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, उद्योगलगायत सबै विषयमा साझा अवधारणा तयार गर्न समितिले विभिन्न प्रक्रिया अगाडि बढाउने र कालीगण्डकी उपत्यकाको व्यवस्थापन समितिको संयोजनमा अर्को भेलाको आयोजना चापाकोट नगरपालिकाले आयोजना सहमति भएको छ ।
रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाको अध्यक्षतमा भएको कार्यक्रममा सांसद सदस्य टुकराज सिग्देलले दुई प्रदेशमा विभाजन भए पनि कालीगण्डकी वारिपारिका स्थानीय सरकार, सरोकारवाला निकायको साथ र सहयोगमा यस क्षेत्रलाई नमूना कालीगण्डकी उपत्यकाका रुपमा विकास गर्नु जरुरी रहेको बताउनुभयो ।
गोष्ठीका अवसरमा सहभागीले कालीगण्डकी क्षेत्रको पर्यटन विकासका लागि कालीगण्डकीमा नियमित जलयात्रा, प्याराग्लाइडिङ, राम्दीदेखि देवघाटसम्म पर्ने सबै स्थानीय तहलाई समेटिनुपर्ने, शिक्षा, स्वास्थ्य, आर्थिक समृद्धिका लागि कृषि उत्पादन, औद्योगिक विकास, धार्मिक, सांस्कृतिक, पर्यटकीय, वातावरण संरक्षण, कालीगण्डकी डाइभर्सन रोक्नुपर्ने, कालीगण्डकी वारिपारि राम्दीदेखि देवकाघाटसम्मका भूभागलाई एउटै प्रदेशमा समेटिनुपर्ने, कालीगण्डी क्षेत्रमा रिङरोड, छापा तथा विद्युतीय सञ्चारमाध्यमको विकासमा जोड लगायतका विषयमा कुरा उठाएका थिए ।
गोष्ठीको सहजीकरण नेपाल सरकारका पूर्वसचिव एवम् भेला आयोजक समितिका संयोजक शान्ताबहादुर श्रेष्ठले गर्नुभएको थियो । रासस