नेविसंघद्वारा प्रधानमन्त्री कार्यालयका सचिव ढुंगानाको गाडी नियन्त्रण


काठमाडौँ, १९ माघ । सरकारबिरुद्ध देशब्यापी आन्दोलन गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चढ्ने गाडी नियन्त्रणमा लिएको छ ।

शनिबार सरकारी गाडी चलाउन नदिने अभियान सञ्चालन गरेको बताएको नेविसंघले काठमाडौंको लाजिम्पाटबाट सचिव शिशिर कुमार ढुंगाना चढ्ने बा १ झ ९९९५ नम्बरको गाडी नियन्त्रणमा लिएको हो ।

संघले पूर्वघोषित आन्दोलन अनुसार शनिबार सरकारी गाडी चल्न नदिने जनाएको थियो । संघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा सडकमा सरकारी गाडीहरुको चाबी नियन्त्रणमा लिइएको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । पाँच बजेसम्म गाडीको चाबी ट्राफिक प्रहरीलाई बुझाउने नेविसंघले जनाएको छ ।

यसैगरी, नेविसंघ डोटीले मेललेक गाउँपालिकाको उपप्रमुख सवार बा २ झ ४१८८ नम्बरको स्कोरपियो पनि नियन्त्रणमा लिए । नेविसंघले जिल्ला प्रहरी कार्यालय डोटीको बा २ प ८९२० नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement