जन्ती जान नदिएको रिसले आफ्नै मालिकको हत्या !


चितवन, १९ माघ । गत माघ १४ गते हत्या गरिएकी पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारीकी रुपा थापाको हत्या आफ्नै घरमा काम गर्ने किशोरले गरेको खुलेको छ ।

थापाको हत्या घरमा काम गर्न बसेका धादिङ ताल्तीखोलका १४ वर्षीय सन्तोष आलेमगरले गरेको पुष्टि भएको हो ।

मगरले आफूलाई जन्त जान रोकेपछि आवेगमा आई खुकुरी प्रहार गरी हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।

घटनाक्रम अनुसार सोही दिन बिहान छिमेकीको विवाहमा जन्त जान बस चढेका मगरलाई थापाले रोकेकी थिइन् । बढी जिद्दी गरेपछि उनी जन्त गएका थिए ।

मगरको भनाइ उद्धृत गर्दै प्रहरी प्रवक्तासमेत रहेका रेग्मीले भने, ‘राति ९ः४५ बजेतिर जन्तबाट फर्किंदा आमा निदाउनुभएको थियो, मैले घरको माथिल्लो तल्लाको बार उप्काएर भित्र छिरेर तल झरी खुकुरीले छप्काएको हो ।’

मगरले दाप सहितको खुकुरी आफू सुतेको कोठाको पछाडि रहेको खोरमा राखेको पाइएको छ । उनले हत्यापछि रगत लागेको हातखुट्टा धोएर सुतेको बयान दिएका छन् ।

समय–समयमा आफूलाई गाली गर्ने गरेको भन्दै आवेगमा आएर हत्या गरेको शुक्रबार सरकारी वकिलको कार्यालयमा बयानका क्रममा मगरले बताएको प्रवक्ता रेग्मीले बताए ।

१० महिनाअघि घरको काम गर्न मगरलाई थापा परिवारले राखेको थियो । छोरी ज्वाइँले धादिङका ती किशोरलाई खोजेर घरमा काम गर्न पठाएका थिए । उनले घरमा रहेका कुखुरा र भण्डारामा रहेको घरको रेखदेख गर्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement