सशस्त्र प्रहरी र गाँजा तस्करबीच झडप, प्रहरीद्वारा एक राउण्ड हवाई फायर
सप्तरी, १९ माघ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिमा सशस्त्र प्रहरी र गाँजा तस्करबीच झडप भएको छ ।
गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीलाई लक्षित गर्दै गएराति गाँजा तस्करहरुको समूहले गोली चलाएपछि झडप भएको हो ।
प्रहरीमाथि दुई राउन्ड गोली चलाएपछि आफूहरुले पनि एक राउन्ड हवाई फायर गरेको सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालय ६ नं. गणका एसपी खेमबहादुर थापाले जानकारी दिए ।
सशस्त्र प्रहरीले गाँजा तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । उनीहरुका साथबाट ५० किलो गाँजासमेत बरामद गरिएको छ ।
पक्राउ पर्नेमा भारतको सुपौल घर भएका ६५ वर्षिय उदय मुखिया, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ का ५६ वर्षिय हिरा मुखिया र ४५ वर्षिय लालवहादुर राय रहेका छन् । तस्करीमा संलग्न अन्य केही व्यक्ति फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।