पूर्व सहायक मन्त्री रोकासहित तीन नेतामाथि सांघातिक हमला, रानीकोटबाट रुकुमकोटसम्म कुट्दै नै लगियो !


रुकुम पूर्व, १९ माघ । रुकुमकोटमा नेपाली कांग्रेसका नेता तथा पूर्व सहायकमन्त्री केशरमान रोकासहित ४ जना कुटिएका छन् ।

रोकासहित नेकपाका नेता सतमान पुन मगर, पुुनिराज घर्ती मगर र नेपाली कांग्रेसका नेता ध्रुवकुमार पुन मगर आन्दोलनकारीबाट कुटिएका हुन् ।

रुकुम पश्चिमबाट रुकुम पूर्व गइरहेका ४ जनामाथि आन्दोलनकारीले शनिवार बिहान ढुङ्गा समेत हानेका थिए । रुकुमकोट प्रवेश गर्नु अगावै रानीकोट भन्ने ठाउँमै आफूहरूमाथि कुटपिट भएको रोकाले बताए । ‘मान्छेहरू गाडी रोक्न बाटो बसेका रहेछन्, मान्छे देखेपछि हामी चढेको गाडी पनि फर्कियो,’ रोकाले भने, ‘हामी हिँड्दै गर्दा लछारपछार पारियो ।’

उनले कुटपिट नगर्न आग्रह गर्दा पनि झन् कुटपिट गरिएको बताए । शरीर दुखेर यताउता चल्न नसक्ने अवस्थामा रहेको उनले बताएका छन् । अर्का पीडित सतमान पुनले आफूहरूमाथि सांघातिक हमला भएको बताए । ‘हामीलाई रानीकोटबाट लछारपछार पार्दै रुकुमकोट पुर्‍याइयो,’ उनले भने ‘त्यसपछि आन्दोलनकारीको बिचमा हालेर थप कुटपिट गरियो ।’

कुटपिट नगर्न तथा कसैलाई फोन गर्न समेत बन्देज गरिएको सतमानले बताए । हाल उनीहरू जिल्ला प्रशासन कार्यालयमा बसेका छन् । प्रहरीको सहयोगमा प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुगेको रोकाले जानकारी दिए । कार्यक्रमको बारेमा प्रशासन सहित सर्वदलीय छलफलका लागि रुकुमकोट जाँदै गर्दा कुटपिट भएको उनीहरूले बताएका छन् ।

रुकुम पूर्वमा जिल्लाको स्थायी सदरमुकाम कायम गर्ने विषयमा विवाद छ । यी ४ जना नेता रुकुम पूर्वको स्थायी सदरमुकाम गोल्खाडा स्थापनार्थ सरोकार समितिका सक्रिय अभियान्ता हुन् । जसको नेतृत्व रोकाले गरेका छन् । यहि कारण उनीहरुलाई कुटपिट गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement