पाल्पामा स्थायी बन्ध्याकरण गर्नेको सङ्ख्या ह्वात्तै बढ्यो
-सुशीला रेग्मी
बेझाड, १९ माघ। सरकारी स्वास्थ्य संस्थामा स्थायी बन्ध्याकरण गर्नेको सङ्ख्या ह्वात्तै बढेको पाइएको छ । एक वर्षको अवधिमा मात्रै ६१७ ले स्थायी बन्ध्याकरण गराएका छन् । गत असार मसान्तसम्म सरकारी स्वास्थ्य संस्थामा पुगेर स्थायी बन्ध्याकरण गराउनेमध्ये २३५ महिला र ३८२ पुरुष रहेका छन् ।
अघिल्लो वर्षको तुलनामा आव २०७४÷७५ मा ४२६ बढीले स्थायी बन्ध्याकरण गराएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो । “पछिल्लो समय सानो र सुखी परिवारका निम्ति जिल्लामा स्थायी बन्ध्याकरण गर्नेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ”, सूचना अधिकारी ज्ञवालीले भन्नुभयो ।
आव २०७३÷७४ मा १४५ महिला र ४६ पुरुष गरी जम्मा १९१ ले स्थायी बन्ध्याकरण गराएका छन् । त्यस्तै आव २०७२÷७३ मा १४४ महिला र १३९ पुरुष गरी २८३ ले स्थायी बन्ध्याकरण गरेका छन् ।
अघिल्ला वर्ष जिल्लामा स्थायी बन्ध्याकरण गराउनेमा महिला बढी रहेको थियो भने पछिल्लो एक वर्षको तथ्याङ्कले महिलाको तुलनामा १४७ पुरुषकोे सङ्ख्या बढी देखिएको छ । सरकारी स्वास्थ्य संस्था, गाउँघर क्लिनिक, सामुदायिक स्वास्थ्य एकाइ, शहरी स्वास्थ्य केन्द्रबाट सुरक्षित र निःशुल्क रुपमा स्थायी बन्ध्याकरण सेवा प्रदान भइरहेको छ ।
नेपाल परिवार नियोजन सङ्घ पाल्पा, युनाइटेड मिशन अस्पताल पाल्पाबाट पनि स्थायी बन्ध्याकरण सेवा उपलब्ध छ । लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा भने अस्थायी रुपमा परिवार नियोजन सेवा प्रवाह भइरहेको छ ।
छिटो छिटो शिशु जन्माउने दरलाई कम गर्न अस्थायी परिवार नियोजनका साधन पनि प्रयोग गरिरहेका छन् । आव २०७४÷७५ मा अस्थायी परिवार नियोजनका साधन पिल्स प्रयोग गर्ने एक हजार आठ सय ७७, डिपो प्रयोग गर्ने तीन हजार २४ रहेका छन् ।
त्यस्तै आयुसिडी प्रयोग गर्ने तीन हजार १७४ र इनप्लान्ट प्रयोग गर्ने तीन हजार २३८ छन् । पहिला पहिला स्थायी बन्ध्याकरण गर्न स्वास्थ्य संस्थामा जान हिचकिचाउने, धेरै सन्तान जन्माउने प्रवृत्ति थियो । अहिले भने सुखी परिवारका निम्ति श्रीमान् श्रीमतीको सर सल्लाह अनुसार स्वास्थ्य संस्थामा पुगेर स्थायी बन्ध्याकरण गराउन थालेका छन् । बढीमा दुई वटा सन्तान जन्मिएपछि स्थायी बन्ध्याकरण गर्ने धेरै भेटिन्छन् ।
गर्भवती महिलालाई अण्डा वितरण
पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटका गर्भवतीलाई अण्डा वितरण गरिएको छ । गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार प्रत्येक गभर्वती महिलालाई स्वास्थ्य परीक्षण गरेपछि पोषण प्रदान गर्न अण्डा वितरण गरिएको हो ।
फोक्सिङकोट स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षण गराउन पुगेका वडा नं २ का २७ गर्भवती महिलालाई स्वास्थ्य परीक्षणपश्चात् प्रतिव्यक्ति ३०÷३० वटा अण्डा वितरण गरिएको सुआहारा कार्यक्रम रम्भा गाउँपालिकाका फिल्ड सुपरभाइजर कुश्माखर पाण्डेले बताउनुभयो ।
गर्भवती महिलाले गर्भ रहेको चौथो, छैठौँ, आठौँ र नवौँ महीनामा नियमित रुपमा स्वास्थ्य परीक्षण गराउँदा आमा र बच्चाको स्वास्थ्यको अवस्थाबारे थाहा पाइराख्न स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको फोक्सिङकोट स्वास्थ्यचौकीका इञ्चार्ज हजारीलाल पटेलले बताउनुभयो ।
यहाँ सुआहारा कार्यक्रम सञ्चालनमा आएपछि महिलालाई पोषिलो खाना बनाउन, टोलटोलमा रहेका स्थानीय स्वास्थ्य समूहलाई गर्भावस्थाका असर, खानपानसम्बन्धी तालीमसमेत दिइएको छ । यहाँका ३२ महिलालाई स्थानीयस्तरमा उपलब्ध सामग्रीबाट सर्वोत्तम पिठो बनाउने ज्ञान सीपसमेत सिकाइएको छ ।
इ हाजिरी
रैनादेवी छहरा गाउँपालिकाका विद्यालयमा विद्युतीय हाजिरी सेवा शुरु भएपछि शिक्षामा सुधार आएको छ । शिक्षकमा समय पालना गर्ने, नियमित विद्यालय आउने जाने बानी बसाल्न, शैक्षिक गुणस्तर वृद्धि गर्न गाउँपालिकाले इ–हाजिरी सेवा शुरु गरेको हो । शिक्षक ढिलो विद्यालयमा पुग्ने, तोकिएको समयमा विद्यालयमा नबस्ने जस्ता समस्या सुधार हुँदै गएको पाइएको छ ।
विद्युतीय हाजिरी सेवा शुरु भएपछि १० नबज्दै विद्यालयमा शिक्षक पुग्ने र पूरा समय विद्यालय हाताभित्र बसेर शैक्षिक क्षेत्रमै तल्लीन भएर लागेको शिक्षा शाखा प्रमुख झलक रायमाझी बताउनुहुन्छ । विद्युतीय हाजिरी शुरु भएपछि प्रधानाध्यापकलाई प्रशासनिक काम गर्न सजिलो भएको उहाँले बताउनुभयो ।
गाउँपालिकाले गत वर्षदेखि विद्युतीय हाजिरी सेवा सञ्चालनमा ल्याएको हो । गत वर्ष १२ वटा मावि र यस वर्ष १४ आधारभूत विद्यालय, गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्था, वडा कार्यालयमा विद्युतीय हाजिरी जोड्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो ।
गाउँपालिकाको करीब रु नौ लाखको लागतमा विद्युतीय हाजिरी जडान गरिएको हो । आगामी वर्ष गाउँपालिकाभित्रका ३५ वटा प्राथमिक तहका विद्यालयमा विद्युतीय हाजिरी जोड्ने कार्यक्रम रहेको छ । अब छिट्टै गाउँपालिकाभित्रका सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरी सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । कार्यालय समय अवधिसम्म नबस्ने र ढिलो कार्यालयमा पुग्ने कार्यलाई सुधार गर्न यो कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ ।
विद्युतीय हाजिरी सेवा शुरु भएपछि विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि हुँदै गएको छ । विद्युतीय हाजिरी सेवा सञ्चालनमा आएपछि शिक्षक, स्वास्थ्य कार्यालय र वडा कार्यालयका कर्मचारी नियमितरुपमा कार्यालयमा आउने जाने गरेको पाइएको छ ।
नयाँ प्रजातिको घाँस उत्पादन शुरु
पाल्पा जिल्लामै पहिलोपटक नयाँ प्रजातिको ‘मलाई’ नामक घाँस उत्पादन शुरु भएको छ । रामपुर नगरपालिका–६ स्थित श्रीकृष्ण उन्नत भैँसी विकास बीउबिजन स्रोत केन्द्रमा परीक्षणका लागि शुरु गरिएको छ । स्रोत केन्द्रका सञ्चालक कृष्णकुमार अर्यालले भारतबाट बीउ खरीद गरी परीक्षणका लागि लगाउनुभएको हो । नयाँ प्रजातिको घाँसको उत्पादन अत्यन्त राम्रो र सफल भएको अर्यालले बताउनुभयो ।
अर्यालले करीब तीन रोपनी क्षेत्रफलमा घाँस लगाउनुभएको छ । “नयाँ प्रजातिको घाँस कस्तो हुन्छ भनेर परीक्षणका लागि मात्र ल्याएर लगाएको अत्यन्तै राम्रो लाग्यो”, उहाँले भन्नुभयो । यो घाँस पशुका लागि अत्यन्तै पोषिलो मानिने र यस घाँसको सेवनबाट दूध उत्पादन बढेको उहाँ बताउनुहुन्छ । छरेको ३० देखि ४० दिनभित्रमा उत्पादन लिन सकिने अर्यालले बताउनुभयो ।
थोरै ठाउँमा धेरै उत्पादन लिन सकिने हँुदा कृषकले यस घाँसबाट राम्रो लाभ लिन सक्छन् । अन्य घाँसको तुलनामा मलाई घाँस दुधालु पशुका लागि उत्तम मानिने पशु स्वास्थ्य प्राविधिक बताउँछन् । रासस