काठमाडौंमा चोरको बिगबिगी : १२४ जना चोरहरुलाई पक्राउ गरी एकैचोटी सार्बजनिक
काठमाडौँ, १९ माघ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने १२४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय अपराध महाशाखाले यही माघ १५ गतेदेखि सञ्चालन गरेको ‘चोरी विशेष अभियान’अन्तर्गत उनीहरुलाई पक्राउ गरेको हो ।
परिसर र महाशाखाले आज पत्रकार सम्मेलन गरी विशेष अभियान सञ्चालन गरी चोरी गर्नेलाई रङ्गेहात पक्राउ गरी कारवाही गरेको जानकारी दिएको हो । परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले दिउँसोको समयमा बढी मात्रामा चोरी तथा लुटपाट हुने गरेको जानकारी दिए ।
“अरु सामग्रीको तुलनामा नगद, सुन, चाँदी बढी चोरी हुने गरेको छ”,उनले भने । साथीभाईको संगत, विगतको घरमा बसेर विगतको घरबेटीको बारेमा सबै जानकारी पाएका, भारतबाट नेपालमा आएर विभिन्न व्यवसाय गर्ने व्यक्ति चोरीमा बढी संलग्न भएको परिसरले जनाएको छ ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले १८ देखि ३० वर्ष उमेरका व्याक्ति बढी चोरीमा संलग्न भएको पाइएको बताए ।