दुषित पानी बेच्ने चार मिनरल वाटर उत्पादक कम्पनीलाई कारवाही


पर्वत, १९ माघ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले पर्वत र बागलुङका चार पानी उत्पादक कम्पनीमाथि कारवाही थालेको छ । ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयन नगरेको पाइएकाले ती कम्पनीलाई पानी उत्पादनमा समेत रोक लगाइएको छ ।

कारवाहीमा पर्नेमा पर्वतका मुक्तिनाथ फुड एण्ड वेभरेज प्रालि र कर्माचार्य ब्रदर्श मिनरल वाटर एण्ड वेभरेज इन्डष्ट्रिज तथा बागलुङका महालक्ष्मी मिनरल वाटर एण्ड वेभरेज र कार्की मिनरल वाटर रहेका छन् ।

उक्त कार्यालयका निमित्त प्रमुख केदार पौडेलका अनुसार कार्यालयले अनुगमन गर्ने क्रममा ती कम्पनीले निर्देशिका पालना नगरेको पाइएकाले उत्पादन बन्द गर्न निर्देशन दिइएको हो । निर्देशिकाअनुसार बोतलको सफाइ, फिलिङ र क्यापिङको काम स्वचालित उपकरणबाट गर्नुपर्नेमा त्यसो नगरिएका कारण उनीहरूमाथि कारवाहीको प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो ।

उद्योगको वास्तविक अवस्थाबारे तयार गरिएको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय बागलुङमा जस्तै पर्वतमा पनि प्राप्त भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनुभयो ।

महिला हत्याका दोषी चार वर्षपछि पक्राउ

महिला हत्याको आरोप लागेका एक व्यक्तिलाई प्रहरीले चारवर्ष पछि पक्राउ गरेको छ । पर्सा जिल्लाको साविक तुल्सीबर्वा गाविस–५ हाल छिपहरमाई गाउँपालिका– ४ बस्ने २३ वर्षीय राजा साहतेली भनिने अकलेश साहलाई प्रहरीले चार वर्षपछि शुक्रबार पक्राउ गरेको हो ।

बागलुङ जिल्लाको साविक तित्याङ गाउँ विकास समिति–६ घर भई पर्वत कुश्मा नगरपालिका–८ भण्डारीटोलमा बस्दै आउनुभएकी ३० वर्षीया विष्णु परियारलाई निजले हत्या गरेपछि लुकीछिपी बस्दै आएको अवस्थामा वाग्लुङ बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छिपहरमाई गाउँपालिका–४ बस्ने वर्ष अन्दाजी ४० का अर्का आरोपी रामबाबु साह तेलीसमेत नौ जना भने अझै फरार छन् ।

परियार २०७१ मङ्सिर २४ गतेदेखि बेपत्ता भएकामा खोजतलास गर्ने क्रममा मङ्सिर २७ गते साविक कुश्मा नगरपालिका–९ हाल वडा नं ५ स्थित खोरीयापानीको जङ्गलमा उहाँको लाश फेला परेको थियो । मृतकका श्रीमान् अर्जुन दर्जीले १० जनाविरुद्ध किटानी जाहेरी दिनुभएकामा पक्राउ परेका तेलीलाई पर्वत जिल्ला अदालतबाट दिन १० को म्याद थप गराई अनुसन्धान गरिरहेको र अन्य अभियुक्तको खोजीकार्य जारी रहेको प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
Advertisement