यसकारण मरेका रहेछन् ९० भन्दा बढी घोडा !

एजेन्सी, १० माघ । अस्ट्रेलियाको उत्तरी क्षेत्रमा पर्ने एक जंगलमा ९० भन्दा बढी जंगली घोडा मृत फेला परेका छन् ।

गत साता रेन्जरहरूले पानी सुकेको पोखरीमा यी घोडाहरू मृत अवस्थामा भेटेका थिए ।

अत्यधिक तातो तापक्रमका कारण घोडा मरेका हुनसक्ने अधिकारीहरूले अनुमान गरेका छन् । किनकि यसअघि पनि ४० वटा घोडा भोक र तिर्खाका कारण मरिसकेका थिए ।

अस्ट्रेलियामा पछिल्लो समय तापक्रम अत्यधिक बढेको छ । केही ठाउँमा त अहिलेसम्मकै धेरै तातो भएको अधिकारीहरूले जनाएका छन् । बिहीबार एडेलेड सहरको तापक्रम ४६.२ डिग्री सेल्सियस पुगेको थियो । सन् १९३९ पछि यहाँ यति तातो भएकै थिएन ।

बढ्दो तापक्रममा धेरै जनावरहरू बाँच्न संघर्ष गरिरहेका छन् । केन्द्रीय भूमि परिषदका अनुसार अहिले मरेका घोडाहरू सबभन्दा पहिले गाउँलेले देखेका थिए ।