त्रिपुरेश्वरमा फेला पर्यो ग्याँस खानि, पानि निकाल्दा यसरी बल्यो आगो !

काठमाडौं, १० माघ । काठमाडौंको त्रिपुरेश्वरमा बोरिङबाट पानी निकाल्ने क्रममा पानीसँगै ग्यास निस्केको छ ।

त्रिपुरेश्वरस्थित भन्सार विभागको कार्यालय प्राङ्गणमा बोरिङबाट पानी निकाल्दा पानीसँगै ग्यास निस्केको हो ।

भन्सार विभागले नयाँ भवन निर्माण गरिरहेको छ । नयाँ भवन निर्माणका लागि आवश्यक पानी बोरिङबाट निकाल्दा पानीसँगै ग्यास निस्केको जनाइएको छ ।

भन्सार विभागसँगै रहेको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानकी उपकार्यकारी निर्देशक इन्दिरा अधिकारीले बोरिङका क्रममा ग्यासको गन्ध आउँदा त्यहाँ उपस्थित व्यक्तिले आगो बालेको जानकारी दिइन् ।

उनले आफू त्यहीँ रहँदा करीब १५ मिनेटसम्म निरन्तर आगो बलेको र त्यसपछि पनि बल्ने क्रममै रहेको बताइन् । ‘आगो बलेको देख्दा म त्यहाँ १० देखि १५ मिनेटसम्म बसेँ,’ उनले भनिन्, ‘त्यतिञ्जेलसम्म बलिरहेको थियो । म आएँ अहिले थाहा छैन बलिरहेको पनि हुनसक्छ ।’

यसअघि करीब दुई वर्षअघि त्रिपुरेश्वरसँगै जोडिएको टेकुमा पनि जमिनबाट ग्यास निस्केको थियो ।