नेपाल र युएईबीचको एक दिवसीय खेल शुक्रबारदेखि शुरु हुने

काठमाडौँ, १० माघ । भोलि शुक्रबारदेखि नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को क्रिकेट टोलीबीच हुने तीन अन्तर्राष्ट्रिय एक दिवसीय र तीन टि–२० अन्तर्राष्ट्रिय सिरिज शुरु हुँदै छ ।

दुबईमा हुने खेलमा नेपालले आफ्नो पहिलो एवं उद्घाटन खेलमा युएईसँग जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ । नेपालले एउटै देशसँग एक दिवसीय र टी २० अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको यो पहिलो पटक हो ।

गत मार्चमा जिम्बावेमा भएको एक दिवसीय विश्वकप छनोटमा एशोसिएटतर्फ उत्कृष्ट तीनमा पर्दै नेपालले पहिलोपटक चार वर्षका लागि एक दिवसीय मान्यता पाएको थियो । उक्त मान्यता पाएपछि नेपालले यो दोस्रो पटक एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

यसअघि नेपालले गत अगष्टमा नेदरल्याण्डसँग उसैको मैदानमा पहिलो एक दिवसीय सिरिज खेलेको थियो, जुन सिरिज एक÷एकको बराबरीमा सकिएको थियो ।