तरुण दलले सुर्खेतमा सरकारविरुद्ध विरोध प्रदर्शन गर्दै

काठमाडौं, १० माघ । नेपाली कांग्रेसको भ्रातृसंगठन तरुण दल सरकारविरुद्ध खरो रुपमा सडक आन्दोलनमा उत्रेको छ ।

माउ पार्टी कांग्रेस सदनमा सरकारविरुद्ध प्रस्तुत भइरहँदा भ्रातृसंगठन भने प्रदेशस्तरीय विरोध प्रदर्शनमा उत्रेको हो ।

तरुण दलले प्रदेश १ को विराटनगर, २ को जनकपुरधाम, ३ को हेटौंडामा प्रदेशस्तरीय विरोध प्रदर्शन गरिसकेको छ । विरोध प्रदर्शनमा तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाई, महासचिव भुपेन्द्रजंग शाही र कोषाध्यक्ष विद्वान गुरुङ सहभागी भएका छन् ।

यसैक्रममा माघ १३ गते कर्णाली प्रदेशस्तरीय विरोध प्रदर्शन सुर्खेतमा हुने भएको छ । नेपाल तरुण दल सुर्खेतको संयोजनमा विरोध प्रदर्शन हुन लागेको हो ।

तरुण दल ‘कम्युनिस्ट सरकारको चमत्कार– महँगी, बलात्कार र भ्रष्टाचार’ मूल नाराका साथ सरकारको विरोध प्रदर्शनमा उत्रेको हो ।