पूर्व सहायक मन्त्री राणाको फार्म हाउस पुर्व युवराज पारसको लागि रिफ्रेस सेन्टर !

काठमाडौं, १० माघ । पूर्व युवराज पारस शाहले आफ्नो छविलाई सुधार गर्दै आफूलाई सामाजिक गतिविधिहरूका साथै सर्वसाधारण जनताहरूसँग सकेसम्म नजिक लैजाने प्रयास गर्दै आएका छन् ।

विदाका दिनहरूमा पूर्व युवराज पारस गोदावरी नगरपालिकातिर बाक्लै देखिने गरेका छन् । पारस बेला–बेला सातदोबाटो हुँदै चापागाउँतिर हानिने गरेका छन् ।

शाही सरकारका पूर्व सहायक मन्त्री निक्षशम्शेर राणाको फार्म हाउसमा पारस प्रायः जाने गरेका छन् । आफ्नो फार्म हाउसमा राणा आँफैले पारसलाई बोलाएर रमाइलो कुराकानी गर्ने गरेका हुन् ।

स्रोतका अनुसार पूर्वयुवराज पारसले काठमाडौंको कोलाहलबाट बच्नका लागि शान्त ठाउँमा जाउँ भनेर त्यतातिर जान थालेको आफ्ना साथी र सहयोगीहरूलाई भन्ने गरेका छन् । राणाले पनि पारसकै आग्रहमा फार्म हाउसमा लैजाने गरेको बताउने गरेका छन् ।

फार्म हाउसभित्र पारसले के–के गर्छन्, त्यो भने केही खुलेको छैन । तर, फार्म हाउसमा विभिन्न थरी खानपानको व्यवस्था गरिएको हुन्छ । स्रोतका अनुसार पूर्व सहायकमन्त्री राणाले पूर्वयुवराज पारसलाई जंगली बँदेल, कालिज, चित्तल आदिको मासुको व्यवस्था गर्छन् ।

त्यतिमात्रै होइन पूर्वयुवराज पारसले मदिरा सेवन पनि गर्ने गरेको बताइन्छ । दाह्रीजुँगा सेतै फुलेका राणा अहिले पनि हृष्टपुष्ठ देखिन्छन् । आफ्नो स्वास्थ्यलाई मेन्टेन गर्दै आएका राणा र पूर्व युवराज पारस चापागाउँ भन्दा माथिको जंगलमा रहेको फार्म हाउसमा अरु कुनै पनि व्यक्ति सँग बोल्दैनन् ।

पछिल्लो समय पारस र राणाबीच सम्बन्ध सुमधुर बन्दै गएको छ । पारसले राणासँग राजनीतिक र अन्य विविध विषयमा सरसल्लाह लिने गरेका छन् ।