छोरी जन्मे प्रदेश सरकारले १ लाख रुपैयाँ दिने !

जनकपुरधाम, १० माघ । २ नम्बर प्रदेश सरकारले छोरी जन्मे एक लाख रुपैयाँको बिमा गरिदिने भएको छ ।

बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रमअन्तर्गत प्रदेश सरकारले यस्तो निर्णय गरेको हो ।

सरकारले २० वर्ष उमेर पुगेपछि उनीहरुले उक्त रकम लिन सक्ने गरी ८ वटै जिल्लामा जन्मेका बालिकाको शिक्षा बिमा कार्यक्रम सुरु गरिएको छ ।

लामो समय मधेसमा छोरीहरुले चरम विभेद सहँदै आएकाले सरकारले यो योजनाबाट छोरीहरुलाई उच्च शिक्षा आर्जन गर्न सहयोग पुग्ने उद्देश्य राखेको छ ।

मधेसमा छोरीको जन्ममा आमाबाबुसमेत खुसी नहुने अवस्था थियो । त्यही संस्कारलाई बदल्न प्रदेश सरकारले बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रम अघि सारेको हो ।

मन्त्रिपरिषद् कार्यालयका सचिव टिकामणि न्यौपानेका अनुसार यो कार्यक्रम सुरु भइसकेको छ । यसका लागि ६ वटा बैंक तथा २ वटा बिमा कम्पनीले प्रस्ताव हालेका थिए। तर, सबैको मूल्यांकन गरी प्रभु बैंक लिमिटेड जनकपुर शाखालाई छनोट गरिएको उनले बताएका छन् ।