नेविसंघको भविष्य निर्धारण गर्न आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं, १० माघ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

आजको बैठकले नेविसंघको वर्तमान कार्य समितिको अवधि थप गर्ने वा नयाँ कार्यसमिति गठन गर्ने भन्ने निर्णय गर्ने छ ।

यसैगरी, महासमिति बैठकले पारित गरेको पार्टीको विधानमा प्राप्त सुझावलाई समावेश गरी कार्यसमितिले विधानलाई अन्तिम रूप दिने छ । महासमिति बैठकले विधानमाथि प्राप्त सुझावहरूलाई मिलाएर राख्ने जिम्मेवारी कार्यसमितिलाई सुम्पेको छ ।

यस्तै, बैठकमा सरकारका गतिविधि, वाइडबडी जहाज खरिदमा अनियमितता भएको भनिएको, चिकित्सक प्राध्यापक डा. गोविन्द केसीको जारी अनसन, पूर्व प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएका दुईवटा अस्पतालका विषय लगायतका विषयमा बैठकमा छलफल हुने छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुर सानेपामा बिहान ११ बजे बस्ने छ ।