देशै भरि भारि हिमपातले जनजीवन प्रभावित

मुस्ताङ, ९ माघ। हिमपातसँगै बढेको चिसोले यहाँको जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवा प्रभावित भएको हो ।

जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेतेलगायत जिल्लाका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकमा हिउँ जमेपछि जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ । एक फिटसम्म बाक्लो हिउँ जमेको छ ।
चिसो बढेकाले सर्वसाधारण घरबाहिर निस्कन नसकेका ठिनीका बासिन्दा सुवास थकालीले बताउनुभयो । गाई, भेडा, चौँरी, च्याङग्रालगायत घरपालुवा जनावरलाई सुख्खा घाँसपात खुवाएर राखिएको छ । वर्षासँगै हावाहुरी पनि चलेको छ ।

पर्यटकीयस्थल पनि सुनसान छन् । जोमसोम–पोखरा हवाई उडान पनि हिमपात, हावाहुरी र खराब मौसमका कारण अवरुद्ध भएको छ । मङ्गलबारदेखि हवाई उडान नभएको तारा एयरका कर्मचारी दुर्गा पुनले बताउनुभयो । तारा एयरले पोखरा–जोमसोम हवाई रुटमा दैनिक दुई वटा उडान भर्ने गरेको थियो । सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि न्यून छ । सडक, पुल, भवन, सिँचाइलगायत विकास निर्माणका काम पनि चिसोका कारण प्रभावित बनेको छ ।

वर्षा र हिमपातले कृषकमा भने खुशियाली छाएको छ । वर्षा भएपछि सिँचाइ हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने थासाङ गाउँपालिका–२ कोवाङका कृषक चन्द्रबहादुर शेरचनले बताउनुभयो । हिउँ पग्लिएर खेतबारीमा हालेको मल भिज्ने र बोटबिरुवा फस्टाउने, उत्पादन बढ्ने कृषक बताउँछन् । स्याउको परागसेचनका लागि माइनस तापक्रमको आवश्यकता भने पुगेको शीतोष्ण बागबानी फार्म मार्फाका प्रमुख बालकृष्ण अधिकारीले बताउनुभयो । रासस