शून्य ‘भिजिविलिटी’मा उडान भर्न नसकेपछि विमानस्थलमै थन्किए बिमानहरु !

काठमाडौं, ९ माघ । भिजिबिलिटि कम भएका कारण देशभरका पाँच दर्जन हवाइ उडान रद्द भएको छ ।

उच्च पहाडी भेगमा हिउँ परेका कारण मुलुकका विभिन्न गन्तव्य जानुपर्ने पाँच दर्जन हाराहारी उडान रद्द भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज विमानस्थल र सुर्खेत विमानस्थलबाट हुनुपर्ने ती उडान प्रतिकूल मौसमका कारण रद्द भएको जनाइएको छ ।

मंगलबार मध्यरातदेखि परेको वर्षा जारी रहनुका साथै उच्च पहाडी भेगमा हिउँ परेपछि उड्डयन मौसम प्रतिकूल भएको छ । यसबाट ‘भिजिबिलिटी’ (दृष्यांश) शून्य हाराहारी भएपछि उडान रद्द भएका हुन् ।

त्रिभुवन विमानस्थलबाट आज बिहानका लागि तालिकामा रहेका सबै पर्वतीय उडान (माउन्टेन फ्लाइट) रद्द भएका छन् । मौसम खुलेका बेला काठमाडौंबाट दैनिक डेढ दर्जनसम्म माउन्टेन फ्लाइट हुने गरेका छन् । हाल बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स र सिम्रिक एयरले माउन्टेन फ्लाइट गर्दै आएका छन् ।

त्यसैगरी काठमाडौंबाट प्रमुख आन्तरिक विमानस्थल लुक्लाका लागि हुनुपर्ने डेढ दर्जन नियमित उडान सबै रद्द भएको जनाइएको छ । फाप्लु जाने तालिकाका उडान पनि कुनै नभए ।

वायुसेवा सञ्चालक संघका अनुसार आज नेपालगञ्ज र सुर्खेत विमानस्थलबाट पश्चिमतर्फका दुर्गम विमानस्थल जानुपर्ने सबै उडान रद्द भएका छन् । जुम्ला, हुम्ला, डोल्पा, बाजुरालगायत गन्तव्यका सबै उडान नभएका हुन् । बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले प्रतिकूल मौसमका कारण आज बुधबार तालिकामा रहेका आफ्नो कम्पनीका सबै माउन्टेन फ्लाइट रद्द भएको जानकारी दिए ।