माथिको आदेश भन्दै भारतीय सीमामा विप्लव माओबादीले लगाएको पर्खाल नेपाल प्रहरीद्वारा भत्काइयो !

काठमाडौँ, ९ माघ । भारतीय सीमामा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले लगाएको काँडेतार नेपाल प्रहरीले हटाएको छ ।

चितवन जिल्लाको माडी नगरपालिकासँग जोडिएको भारतीय सीमाक्षेत्रमा विप्लवका कार्यकर्ताले लगाएको काँडेतार प्रहरीले हटाएको हो ।

चितवनको माडी नगरपालिका-५ स्थित मरचरीकुटीमा रहेको नाचनचरीको पिलर नम्बर ४५ नजिक विगतमा भारतद्वारा मिचिएको नेपाली भूभागमा विप्लव नेतृत्वको ने.क.पा भाृत संगठन अखिल क्रान्तिकारीले काँडेतार लगाएकोमा माथिको आदेश भन्दै नेपाल प्रहरीले तारबार हटाएको छ ।

अखिल क्रान्तिकारिका अध्यक्ष चिरञ्जीवि ढकालले उक्त काँडेबार करिब ३० मिटर लामो रहेको बताएपनि जम्मा १६ हात मात्र तारबार लगिएकोमा माथिबाट निर्देशन आएकाले आफूहरुले हटाएको माडी प्रहरीले जनाएको छ ।

भारतले चितवनको माडीलगायत देशका ७१ स्थानमा ७८ हजार हेक्टरभन्दा बढी जमिन मिचिरहेको बताउँदै अखिल क्रान्तिकारीले देशको ‘सीमा बचाऔँ अभियान !’ अन्तर्गत उक्त स्थानमा काँडे तारबार लगाएको थियो ।

भारतले जङ्गेपिलर नेपालभित्र सारेर मात्र नभई कोसी, गण्डक नहर निर्माण गर्दा र महाकाली सन्धि गर्दासमेत नेपाली भूमिमाथि अतिक्रमण गर्दै आएको अध्यक्ष ढकालले बताए ।