मानव अधिकार आयोगले बिज्ञप्ति जारी गर्दै भन्यो – ‘डा. केसीको जीवन रक्षा गरौँ’

काठमाडौं, ९ माघ । अनसनरत डा गोविन्द केसीको स्वास्थ्यअवस्था दिनानुदिन खस्कंदै गएको प्रति चासो देखाउँदै राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारको ध्यानाकर्षण गरेको छ ।

डा केसीको जीवन रक्षाका लागि आयोगले सरकारसंग अपिल गर्दै ध्यानाकर्षण गरेको हो ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगले केसीको स्वास्थ्य अवस्थाबारे शिक्षण अस्पताल महाराजगञ्ज गएर अनुगमन गरेको बताएको छ ।

‘चिकित्सा शिक्षाजस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन सम्बन्धित पक्षलाई आयोग आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘डा केसीसँग नेपाल सरकारले विगतमा पटक-पटक गरेका सम्झौताहरूमा गम्भीर हुँदै उहाँको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।’

आफूसँग भएको सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयकमा व्यवस्थाहरू राख्नुपर्ने भन्दै डाक्टर केसी पुस २५ गतेदेखि अनसन बसिरहेका छन् ।