बाँदर धपाउन चन्दा संकलन !

काठमाडौं, ९ माघ । बाँदरको आतंक नियन्त्रणका लागि खोटाङका स्थानीयबासीले चन्दा उठाउन थालेका छन् ।

बाँदरले खेतबारीका बालीनाली सखाप पार्ने गरेकाले खोटाङको उत्तरी क्षेत्रका बासिन्दाले ‘बाँदर धपाऊ’ अभियान सुरु गरेका हुन् ।

केपिलासगढी गाउँपालिका वडा नम्बर ४ का बाक्सिला, सिमपानी, दशकटे, खोक्मा, खुवालुङ, पोखरी वडा नम्बर ३ को बाँसपानी, वडा नम्बर ५ को सप्तेश्वरीस् तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ११ मा पर्ने खार्मी लगायत गाउँका बासिन्दाले आपसमा चन्दा उठाएर बाँदर धपाउने अभियान थालेको बताएका छन् ।

बाँदरले हैरान पारेपछि प्रतिघरधुरी दुई सय रुपैयाँ उठाएर बाँदर धपाउने टोली परिचालन गरेको केपिलासगढी गाउँपालिका, ३ का वडाध्यक्ष खगेन्द्र गुरुङले बताए ।