महायज्ञमा एकै परिवारद्वारा १२ लाख ५१ हजार दान

दाङ, ८ माघ । घोराही उपमहानगरपालिका–१३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार वनगाउँको आयोजनामा घोराहीमा जारी महायज्ञमा यहाँका एक परिवारले साढे १२ लाख नगद दान गर्नुभएको छ ।

महायज्ञ आयोजक मूल समितिका संयोजक घोराही उपमहानगरपालिका–१३ का विमला गिरीको परिवारले रु १२ लाख ५१ हजार दान गर्नुभएको हो ।

स्वर्गीय हजुरबुबा रणु गिरी, हजुरआमा तुलसा गिरी, ससुरा शुभान गिरी, सासु मीना गिरी र बुबा छविलाल योगी र आमा राधा योगीको स्मृतिमा महायज्ञ आयोजक मूल समितिका संयोजक विमला योगी, उहाँको श्रीमान् वरिष्ठ अधिवक्ता अनिरुद्र गिरी, छोरीहरु डा रञ्जु गिरी, इञ्जिनीयर आस्था गिरी र छोरा अवनिश गिरीले सो रकम विद्यालयको भौतिक पूर्वाधार विकासका लागि दान गर्नुभएको हो ।

यो महायज्ञमा हालसम्मकै सर्वाधिक राशि हो । सो रकमसहित आज छैठौँ दिन रु २७ लाख ३९ हजार ८६० दान सङ्कलन भएको महायज्ञका निर्देशक प्रा डा अर्जुन बुढाथोकीले जानकारी दिनुभयो । महायज्ञमा हालसम्म रु ६६ लाखभन्दा बढी दान सङ्कलन भएको पनि बुढाथोकीले जानकारी दिनुभयो ।

विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा सञ्चालन सहयोगार्थ आयोजित ‘श्रीमद् भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ २०७५’ को आयोजना गरिएको हो । महायज्ञको मुख्य वाचकमा बालयोगेश्वर रहनुभएको छ । महायज्ञमा दैनिक धार्मिक कार्य हुने गरेको छ ।