स्वास्थ्य मन्त्रीको ठाडो निर्देशनमा डाक्टरद्वारा किरिया घरमै पुगेर स्वास्थ्य जाँच तथा स्वाईनफ्लूको नमूना संकलन

काठमाडौं, ८ माघ । स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा चिकित्सकहरुको एक टोलीले किरिया घरमै गएर किरिया बसेका परिवारहरूको स्वास्थ्यमा देखिएको स्वाईनफ्लूको नमूना संकलन गर्नुका साथै स्वास्थ्य चेकजाँच गरेको छ ।

काठमाडौं धोवीखोला घर भएका ५० वर्षीय एकजना व्यक्तिको ‘एन्फुलुएञ्जा– ए’का कारण सोमबार मृत्यु भएपछि घरपरिवारका आफन्तले किरिया बसेकै स्थानमा आएर उपचार र नमूना संकलन गर्न आग्रह गरेका थिए ।

स्वाईनफ्लूले मृत्यु भएका व्यक्तिका आफन्तहरू चावहिलमा काजकिरियामा बसेका छन्। विभागको चिकित्सकहरूको टोलीको नेतृत्व गरेर गएका डा.प्रकाश शाहले एकजना बच्चासहित छ जनाको नमूना संकलन गरिएको छ ।

‘घाँटीका साथै विभिन्न परीक्षणहरू गरेका छौँ’, उनले भने, ‘अरु नमूना पनि संकलन गरिएको छ । अहिले नै त्यस्तो डराइ हाल्नुपर्ने अवस्था छैन । तर, सर्तक रहनुपर्छ ।’

डा.शाहले भने, ‘कसैलाई रुघा खोकी र ज्वरो आएको छ भने भने ढिला नगरेर नजिकको अस्पताल वा स्वास्थ्य चौकीमा पुगेर चेकजाँच गराउनु पर्छ । हेलचेक्राइ गर्नु हुँदैन ।’

हिमाल अस्पतालमा उपचार गराउने क्रममा ती ५० वर्षीय व्यक्तिको मृत्यु ‘एन्फुलुएञ्जा– ए’बाट मृत्यु भएको रिपोर्ट आएपछि परिवारजनले सर्तकता अपनाएका हुन् ।