सभामुखको ब्यबहारप्रति रुष्ट भयो कांग्रेस, माफी नमागेसम्म सदन चल्न नदिने चेतावनी !

काठमाडौं, ८ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख कृष्ण बहादुर महरालाई गम्भीर आरोप लगाएको छ ।

प्रतिपक्षलाई पेलेर भएपनि विधेयक पारित गर्ने सरकारको प्रपञ्चमा सभामुख सहभागी भएको जस्ता गम्भीर आरोप लगाएको हो ।

सभामुखको यो कदम डरलाग्दो परिदृश्य भएको भन्दै कांग्रेसले सदनभित्र र बाहिर प्रतिरोध गर्ने बताएको छ ।

पूर्वप्रधानमन्त्रीद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताल खारेज गर्न खोजेको भन्दै कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ ।

मंगलबार पनि दुई पटक बैठक बस्यो तर, कांग्रेसको अवरोधका कारण कार्यसूचीमा प्रवेश गर्न सकेन ।

दोस्रो बैठकमा कांग्रेसको अवरोधका बीच सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई चिकित्सा शिक्षा विधेयक पेश गर्न समय दिएपछि स्थिति केहीबेर तनावपूर्ण भयो । कांग्रेस संसद गिरिराजमणि पोखरेलमाथि नै खनिए । सत्तारुढ सांसदहरुले मन्त्रीलाई रोष्टममा पुर्‍याउन खोजे भने कांग्रेस सांसदहरुले रोक्दा झन्डै हात हालाहालको स्थिति सिर्जना भएको थियो ।

(चिकित्सा शिक्षा) विधेयक जबरजस्ती पारित गराउँछु भन्ने सरकारको प्रपञ्चमा सभामुख ‘पार्टीको कार्यकर्ता जस्तो भएर सहभागी भएको कांग्रेसको आरोप छ । ‘यो भन्दा पहिला पनि पटकपटक यस्ता घटना भएका छन् । तर, कहिल्यै पनि यति धेरै एउटा दलप्रतिको रुझान राखेर सभामुखले व्यवहार गरेको हामीलाई थाहा छैन’ बैठकपछि कांग्रेस सांसद गगन थापाले भने ।

सरकार शक्ति पृथकीकरणको सम्पूर्ण सिद्धान्तहरु कुल्चिएर अगाडि बढ्न चाहेको र सभामुख पनि त्यसमा समभागी भएको भन्दै उनले भने, आज सदनमा प्रतिपक्षसँग जुन व्यवहार भएको छ, यो एउटा डरलाग्दो परिदृश्यको संकेत हो । यसलाई हामीले सामान्य घटनाका रुपमा लिएको छैन । कांग्रेसले यसको प्रतिरोध सदनबाट पनि गर्छ, ससद बाहिरबाट पनि गर्छ ।’

‘सदनको नियत जसरी हुन्छ आज सदनमा एउटा विधेयक टेबल गर्ने । मैले सरकारको नियत मानेँ । अनि सदनको नियत पनि एउटै हुन्छ ? सदन र सरकार एक भएर आज देखाइदिने भनेर आउने ? देखाइदिने कुराको प्रतिरोध हुन्छ । आज पनि भयो, फेरि पनि हुन्छ ।’

कांग्रेसले यो घटनालाई लिएर सभामुखले माफी माग्नुपर्ने माग समेत गरेका छन् । ‘११ गतेको बैठक बस्नु अगाडि आज भएको घटनाबारे कांग्रेससँग बसेर बुझ्ने गरी आजको घटना क्षमायाचना र आइन्दा यस्तो घटना नहुने सुनिश्चितता नगर्दासम्म सदनको कारबाही अगाडि बढ्न सक्दैन’ उनले भनेका छन् ।