चट्याङ लागेर दुईको मृत्यु, चार घाइते !

डडेल्धुरा, ८ माघ । डडेल्धुरामा चट्याङ लागेर दुई व्यक्तिको ज्यान गएको छ ।

जिल्लाको गन्याधुरा गाउँपालिका–५ गनेडा गाउँकी १२ वर्षीया रोशनी देउवा र आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापाको मंगलबार बिहान चट्याङ लागेर ज्यान गएको हो ।

देउवाको उपचारका क्रममा डडेल्धुरास्थित उपक्षेत्रीय अस्पताल र थापाको घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।

भुवनेश्वरी माविमा पढिरहेको अवस्थामा एक्कासी चट्याङ लागेर १३ वर्षीय रोशनी गम्भीर घाइते भएको र जिल्ला सदरमुकामस्थित उपक्षेत्रीय अस्पतालमा उनको उपचारका क्रममा निधन भएको प्रहरी नायव उपरीक्षक केसीले बताए ।

यस्तै आलिताल गाउँपालिकाकै वडा नं ५ भित्रीसैनमा पनि चट्याङ लागेर चार जना घाइते भएका छन् ।

घाइते हुनेमा मानबहादुर विष्ट, गोमती, मनिसा भण्डारी र हरिना भण्डारी विष्ट रहेका छन् । चारै जनालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ।