दुई तिहाइ सरकारको उपहार : साढे चार अर्व भ्रष्टाचार, ठूला नेता मिलेका, साढे चार अर्व निलेका लेखिएका प्ले कार्ड बोकेर संसद् घेर्न पुगेका कृष्ण पहाडी सहितका झन्डै एक दर्जन मानव अधिकारकर्मी गिरफ्तार !

काठमाडौं, ८ माघ । संसद् भवन अगाडि धर्ना बस्न पुगेका मानव अधिकारकर्मीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

अनशनरत डा. गोविन्द केसीसँगको पूर्व सहमति कार्यान्वयन र वाइडबडी भ्रष्टाचार प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै मानव अधिकारकर्मी धर्ना बस्न गएका थिए ।

मानव अधिकार तथा शान्ति समाजको आह्वानमा प्रदर्शन गर्न पुगेका समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, का.वा सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणि बञ्जारा, अधिकारकर्मीहरू ईश्वर पुडासैनी, सुकदेव अधिकारी, वीपी पौडैल, ईश्वरी नैपाल, रूपा गिरी, बाबुराम न्यौपानै, नारायण श्रेष्ठ, विनित अर्याल, किरण ढकाल, मुरारीप्रसाद फुयाल, नानीकाजी गिरी र अमृतजंग महतलाई प्रहरीले गिरफ्तार गरेको हो ।

गिरफ्तार गरिएका सबैलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको मानव अधिकार तथा शान्ति समाजले जनाएको छ ।

धर्नामा सहभागीले ठूला नेता मिलेका, साढे चार अरब निलेका, दुई तिहाइ सरकारको उपहार : साढे चार अर्ब भ्रष्टाचार, डा. केसी सँगको सहमति कार्यान्वयन गर, जहाज खरिद भ्रष्टाचार : मूल दोषीहरूलाई कारवाही गर, ढँटुवा मन्त्री बर्खास्त गर लगायतका प्लेकार्ड बोकेका थिए ।

उनीहरूले संसद्लाई ढाँटेको भन्दै पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई तत्काल बर्खास्त गर्न माग समेत गरेका छन् ।