अरुण भट्ट हत्या प्रकरण : धनगढीको मुख्य बजारबाट थप एकजना समातिए

कैलाली, ८ माघ । कैलालीका युवा अरुण भट्टको हत्यामा संलग्न रहेको आरोपमा थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको गोदावरी नगरपालिका–२ बस्ने १९ वर्षीय राजु कडायतलाई धनगढीको मुख्य बजारबाट प्रहरीले पक्राउ गरेको हो ।

यसअघि, हत्यामा संलग्न भएको भन्दै प्रहरीले तीनजना र अपराधी लुकाउन खोजेको भन्दै तीनजनालाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत कैलालीबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

गएको शनिबार अत्तरियास्थित सुदूरपश्चिम प्रादेशिक महोत्सवको गेटअगाडि धारिलो हतियार प्रहारबाट गोदावरी–१ का अरुण भट्टको मृत्यु भएको थियो ।