कांग्रेस सांसदले आजपनि बैठक चल्न दिएनन्,सबै आफ्नो माग सम्बोधन नभएसम्म सदन चल्न नदिने चेतावनी

काठमाडौँ, ८ माघ । प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध भई स्थगन भएको छ । बैठक शुरु हुनेबित्तिकै सभामुख कृष्णबहादुर महराले समय दिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रकाशमान सिंहले सरकारले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका नाममा तनहुँमा स्थापित श्वासप्रश्वास केन्द्र र बाँकेमा स्थापित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल केन्द्रीय सरकारअन्तर्गत सञ्चालन हुने निर्णय भएको जानकारी संसद्मा नआएसम्म बैठक चल्न नसक्ने बताउनुभएको थियो ।

सांसद सिंहले प्रा डा गोविन्द केसीसँग सरकारकाले गरेको सहमति कार्यान्वयन हुनुपर्नेमा पनि जोड दिनुभएको थियो । सांसद सिंहले आफ्ना विचार राखिसकेपछि सभामुख महराले बैठकको कारवाही अघि बढाउन लाग्दा काङ्गे्रस सांसदले रोष्ट्रम घेराउ गरेका थिए । यसपछि सभामुख महराले १५ मिनेटका लागि बैठक स्थगन गर्नुभएको छ । रासस