गोलाबारीमा १३ घण्टा हराएका युद्धवीरले १४ वर्ष टेके

हेटौँडा, ८ माघ । चौध वर्षमा प्रवेश गर्दै गरेका युद्धवीर माघ २ गते निक्कै व्यस्त थिए । कतिपय उनीसँग सेल्फी खिच्दै थिए त कतिपय अन्तरवार्ता लिँदै । लज्जालु स्वभावका युद्धवीर भने भीडबाट टाढिन खोज्थे । मुश्किलले पाँच÷ छ वटा घर भएको साविक फापरबारी गाविस र अहिलेको बागमती गाउँपालिकाको केन्द्र रहेको झुरझुरेको मुख्य मार्गबाट २० मिनेटको ठाडो उकालो हिँडेपछि पुगिने सानो गाउँ थलीमा २०६२ माघ ८ गते साँझ ५ बजे जन्मिएका थिए युद्धवीर । उनी थुप्रै संयोगहरुका बीच जन्मिएर भाग्यले बाँचेका एक किशोर हुन् ।

युद्धवीर त्यही दिन जन्मिए जुन दिन उनका हजुरबुबा र काका मारिएका थिए । बाबुलाई गोली लाग्यो । युद्धवीर त्यही दिन जन्मिए जुन दिन उनको घरमा गोलाबारी भयो र आगो लाग्यो । उनी त्यही दिन जन्मेका थिए जुन दिन झुरझुरेमा तत्कालीन विद्रोही माओवादी र सरकारी सेनाबीच ५० जना भन्दा बढी मारिने गरी भयानक युद्ध छेडियो ।

माघ ७ गते देखि नै थोरै बेथा शुरु भए पनि ज्योममाया बजुले ८ गते साँझ मात्रै छोरालाई जन्म दिइन् । ससुरा प्रताप सिंहले नाति जन्मेको थाहा पाउनासाथ बच्चालाई नुहाउन पानी तताउन थाले । सासू मंगलीमायाँ सुत्केरी बुहारीको स्याहारसुसारमा जुटिन् । सुत्केरी र बच्चाको सरसफाइ सकेर बच्चालाई दूध खुवाउने तयारी हुँदै थियो । उता, ससुरा बच्चा नुहाउन पानी तताएकै भाँडोमा पानी थपेर सुत्केरीलाई मासु खुवाउन खोरबाट भाले झिकेर काट्दै थिए । अचानक हल्लीखल्ली सुनियो, विस्तारै गोली चलेको, बम पड्केको आवाज आउन थाल्यो । चिच्याहट र कोलाहलबीच सबैजना घरभित्र भेला भए । गोलाबारी रोकियोस्, अनि फेरि शान्ति आओस् भन्ने कामना गर्दै परिवार एकै ठाउँमा भेला भएर बसे । तर भयो विपरीत । गोलाबारीले घरमा आगो सल्कियो । एक तले घर, खरको छानो । ढोका खोलेर भाग्न नपाई आगो ढोकातिर खस्यो । अब परिवार नै डढेर मर्नुको विकल्प देखिएन तर, सुत्करीले साहस देखाइन् । काखको बच्चा सासूको हातमा सुम्पिएर सिलौटो उठाएर भित्तामा हान्न थालिन् । भित्ताको फलेक खुस्कियो, बच्चासहित सासुआमालाई निकालिन्, ससुरा र भतिजासमेत त्यहीँबाट बाहिर निस्किए । अन्तमा दुई सन्तानसहित ज्योममाया पनि बाहिर निस्किन् तर, बाहिर दोहोरो भिडन्त भइरहेको थियो । उनीहरु शौचालय बनाउन खनिएको खाल्डोभित्र लुके । सानो बच्चा कपडामा बेरेर हजुरआमाले बोकेकी थिइन् अनि, छोरी र ठूलो छोरोसँगै ज्योममाया । सबै भन्दा माथि थिए प्रतापसिंह अर्थात सुत्केरीका ससुरा । माथि भएकै कारण प्रतापसिंह अर्थात युद्धवीरका हजुरबुबाले ठूलो मूल्य चुकाउनुप¥यो । उनको टाउकामा गोली लाग्यो । उनको प्राणान्त भयो । बचेकाहरु त्यहाँ बस्न सकेनन् । युद्धवीरकी हजुरआमा अर्थात् मंगलीमायाँ अर्धचेत जस्तै भएकी थिइन् । यद्यपि, भर्खरै जन्मिएका युद्धवीर उनकै काखमा थियो कपडामा लपेटिएको अवस्थामा । पतिलाई आँखा अगाडि गुमाउनु पर्दा विक्षिप्त बनेकी मंगलीमाया बच्चा बोकेर गोलाबारीको पर्वाह नगरी अघि अघि लागिन् । साथमा दुई छोराछोरी बोकेर केहीबेर अघि मात्र सुत्केरी बनेकी ज्योममाया पछि लागिन् । मानबहादुर अर्थात सुत्केरीका भतिज पनि गोलीहरुलाई छल्दै दौडिरहेका थिए । सयौं गोली छलेका उनले एउटा गोली छल्न सकेनन् । उनको छातीमा एउटा गोली लाग्यो । मानबहादुर त्यहीँ ढले । पति मारिएको देखेकी मंगलीमायाकै अगाडि ठूलो नाति पनि ढल्यो । एकै छिनमा मंगलीमायाँको छोरो सुत्केरीकीे पति सुकबहादुर बजुलाई पनि गोली लाग्यो तर, उनी ढलेनन् । परिस्थिति दर्दनाक र भयानक थियो । यद्यपि, बाँचेकाहरुले सकेसम्म आफूलाई बचाउनु थियो । मरेकाहरुलाई अङ्गालेर रुने स्थिति थिएन । बाँचेकाहरु सबै भाग्दै भाग्दै नजीकको अर्को टोलमा पुगे । त्यो टोल पनि धेरै टाढा थिएन । केही थान गोलीहरु त्यहाँ पनि पड्किनै रहेका थिए । रोदन, चिच्याहट त्यहाँ पनि थियो ।

दुई घण्टाभित्र यी सब घटना भएका थिए । चलचित्रको कथा झैं लाग्ने यो घटनामा त्यो परिवारका दुई जना सदस्य मारिएका थिए । दुई घण्टा अगाडि जन्मिएको बच्चालाई एक थोपा दूधसमेत खुवाउन पाएकी थिएनन् ज्योममायाले । त्यसैले उहाँले सासूआमासँग बच्चा मागिन् तर, सासूको हातमा बच्चा थिएन । बच्चा गुट्मुट्याएको कपडा मात्रै थियो । भागदौडमा बच्चा झरेछ । श्रीमान्, नाति आँखै अगाडि मारिएको देख्दा मानसिक रुपमा सा¥है नै विक्षिप्त बनेकी मंगलीमायाँलाई बच्चा कहाँ, कतिखेर झ¥यो थाहै भएन । ज्योममाया निक्कै नै आत्तिइन् । बच्चा खोज्न दौड्दा उनलाई धेरैले रोक्न खोेजे तर सकेनन् । आमाको ममता न हो ! ज्योममाया त्यहीँ खाल्डोनिर पुगिन् तर खाल्डोमा बच्चा थिएन । कतै रोएकै भएपनि सुन्न सकिने अवस्था पनि थिएन । कैयौं गोलीले उनलाई झण्डै झण्डै छोएर गए तर उनले बच्चा खोज्न छाडिनन् । बच्चा बिहान मात्रै भेटियो । जन्मिएर १३ घण्टा हराएको त्यही बच्चा हो युद्धवीर । उनी आज १३ वर्ष पूरा हँुदैछ । नातामा युद्धवीरका हजुरबुबा पर्ने रामबहादुर बजुले सुनाएको स्मरण हो यो ।

यो अपत्यारिलो घटना स्थलमा निर्माणाधीन शहीद पार्कको नेकपा अध्यक्ष पुष्पकमल दाहालले शिलान्यास गर्ने कार्यक्रममा सहभागी धेरै पत्रकार तथा अतिथिहरुको ध्यान युद्धवीरतर्फ थियो । तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबीच भएको युद्धमा २८ विद्रोही र सेनाका आठ जवानले ज्यान गुमाएका थिए । युद्धमा ६ वर्षीय बालकसहित तीनजना सर्वसाधारणको ज्यान गएको थियो । सशस्त्र द्वन्द्वको यो नै अन्तिम ठूलो भिडन्त थियो । त्यसपछि अन्य राजनीतिक दलहरुसँग मिलेर शान्तिपूर्ण आन्दोलनमा समाहित भएको माआवादी आज नेकपा एमालेसँगको एकीकरण पछि नेकपा बनेको छ र अहिले नेकपाको नेतृत्वमा दुई तिहाई समर्थन प्राप्त सरकार बनेको छ ।

‘बालकको नाम त शान्तिवीर पो सुहाउँछ’ भीडमा कसैकसैले भनेको सुनिन्थ्यो । हुन पनि युद्धवीर जन्मिएको दिन पछिको १३ वर्ष लामो कालखण्डमा देशले दीर्घकालीन शान्तिको बाटो समातिसकेको छ । ऊ जन्मेदेखि युद्ध हैन शान्ति प्रक्रिया शुरु भयो । रासस