स्याङ्जामा ‘क्रस–कन्ट्री’ दौड प्रतियोगिता हुने

काठमाडौँ, ८ माघ । सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा यही माघ २६ गते स्याङ्जा पुतलीबजार–९ मा ‘स्वास्थ्यका लागि दौड, राष्ट्रको लागि दौड’ मूल नारासाथ ‘क्रस–कन्ट्री दौड प्रतियोगिता–२०७५’ हुने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संस्थाका प्रमुख सल्लाहकार एवं गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युकेका युथ को–अर्डिनेटर लालबहादुर गुरुङले ग्रामीण क्षेत्रमा राष्ट्रियस्तरको खेलकूद प्रतियोगिता आयोजना गर्न सकिने सूचना अन्तर्राष्ट्रियस्तरमा प्रवाह गर्न उक्त प्रतियोगिता गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रमा पर्यटन विकास र प्रवद्र्धनको लागि पनि यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्न सक्ने हामीले विश्वास लिएका छौँ ।” नयाँ पुस्ता आफ्नै गाउँदेखि बेखबरमात्रै भएनन्, इतिहास र आफ्नो धरातल बिर्सिंदै जाने क्रम बढेकाले सबैको ध्यान तान्न प्रतियोगिता गर्न लागेका उहाँको भनाइ थियो ।

प्रतियोगिता सम्पन्न भएसँगै भविष्यमा साइकल रुट निर्माण गरी साइकिलिङ गर्ने, पौडी पोखरी निर्माण गरी प्रतियोगिता आयोजना गर्ने र प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गर्ने गुरुङले जानकारी दिनुभयो । प्रतियोगिताका बेला स्थानीय सोरठी, घाँटु, कौरा, चुड्का, सालैजोलगायतका स्थानीय झाँकी प्रदर्शन हुने आयोजक संस्थाका महासचिव मनबहादुर थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार क्रसकन्ट्री दौड १४ किमी (२१ वर्षमुनिका) र ३१ किमी (खुला) दुई समूह बिहान ९ बजे शुरु हुनेछ । पुतलीबजार–९ कोल्मा बराहचौरबाट शुरु भई पुतलीबजार–८, शुक्लागण्डकी–९ तनहुँ र बिरुवा गाउँपालिका–४ बाट पुतलीबजार–९ मा पुगी समापन हुने आयोजकले जानकारी दिएको छ । त्यस्तै प्रतियोगितामा प्रथम हुनेलाई रु २० हजार, द्धितीय हुनेलाई रु १५ हजार, तृतीयलाई रु १० हजार पुरस्कार दिइनेछ । त्यस्तै, दोस्रो समूहको पहिलो हुनेलाई रु ५० हजार, द्धितीयलाई रु ४० हजार, तृतीय हुनेलाई रु ३० हजारको पुरस्कार दिइनेछ ।रासस