उफ ! रोनाल्डोको बिर्सनलायक प्रदर्शन : फेरी चुके पेनाल्टीमा ! !

एजेन्सी, ८ माघ । पुर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा चुकेपछि गए रातिको खेल युभेन्ट्सले जिते पनि उनको लागी बिर्सन लायक खेल बन्यो ।

किएभोका मातिया बानिले पेनाल्टी क्षेत्रमा ह्याण्डबल गरेपछि प्राप्त पेनाल्टीमा रोनाल्डो गोल गर्न चुकेका हुन् ।

उनको प्रहारलाई गोलरक्षक स्टेफनो सोरेन्टिनोले बचाएका थिए । यसबाहेक खेलमा पनि उनी थुप्रै गोल गर्ने अवसरमा चुकेका थिए ।

यद्यपी, युभेन्टसले किएभोलाई पराजित गर्दै लिगमा अपराजित यात्रालाई भने निरन्तरता दिएको छ । घरेलु मैदानमा युभेन्टसले ३-० को सहज जित दर्ता गर्यो ।

खेलको १३ औं मिनेटमा युभेन्टसले डग्लास कोस्टाको गोलमा अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा पाउलो डिबालाको पासमा एम्रे च्यानले गोल गर्दै युभेको अग्रता दोब्बर पारे । लिभरपुलबाट युभेन्ट्स गएयता उनको यो क्लबका लागि पहिलो लिग गोल थियो ।

यसैगरी खेलको ८२ औं मिनेटमा युभेन्ट्सले जित सुनिश्चित गर्यो । फेडेरिको बर्नार्डेसकीको फ्रिकिकमा ड्यानीएले रुगानीले गोल गर्दै ३-० को अग्रता दिलाए ।

यस जितसँगै युभेन्ट्सले शीर्ष स्थानमा ९ अंकको अग्रता कायम गरेको छ । २० खेलमा युभेले १८ जित र २ बराबरीसँगै ५६ अंक जोडेको छ । दोस्रो स्थानको नेपोलीको २० खेलमा ४७ अंक छ ।