माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सम्पन्न

खोटाङ, ८ माघ । माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको जनाइएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको ७० र प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिको ३० प्रतिशत लगानीमा केपिलासगढी गाउँपालिकाको सुङ्देलबाट उत्पादन गर्न लागिएको जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको हो ।

सुङ्देलको दाम्कुबेँसीमा पानी खसालेर उत्पादन गरिने विद्युत् आयोजनाको पावरहाउस, हेडड्रेस, पाइपलाइनलगायत ठूला काम अन्तिम चरणमा पुगेको रावा इनर्जी डेभलपमेन्ट प्रालिका सञ्चालक मुक्ति तिम्सिनाले जानकारी दिए। “आगामी असार मसान्तभित्र विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको छ”, उनले भने, “उत्पादित विद्युत् सिधै केन्द्रीय प्रसारण लाइनमा जडान गरेर वितरण गरिनेछ।”

करीब दुई हजार १०० मिटर माथिबाट पानी झारेर विद्युत् उत्पादन गरिने उक्त विद्युत् आयोजनामा अहिले एक हजार मिटरभन्दा बढी पाइपलाइन बिच्छ्याउने काम सम्पन्न भएको छ। दाम्कुबेँसीमा रहेको विद्युतगृहको काम भने अन्तिम चरणमा पुगेको सञ्चालक तिम्सिनाको भनाइ छ।

बिद्युत तीन मेगावाट क्षमताको उत्पादन गर्न लागिएको हो ।