श्रीमान कांग्रेस त्यागेर नेकपामा प्रवेश गरेपछि श्रीमतीद्वारा विज्ञप्ति जारी ! (विज्ञप्तिसहित)

काठमाडौं, ७ माघ । एउटा पार्टी छोडेर अर्को पार्टीमा प्रवेश गर्नु नेता तथा कार्यकर्ताहरुको लागि फेसन जस्तै बनेको छ । त्यसै ट्रेन्डलाई फलो गर्दै चितवन माडी नगरपालिका–५ निवासी तीर्थराज भुसाल पनि माघ ५ गते नेकपा प्रवेश गरे । उनको नेकपा प्रवेशले परिवारमै भाँडभैलो भएको छ ।

नेपाली कांग्रेस चितवनका पूर्व कावा सभापति तथा पूर्वसांसद भएकाले पनि नेकपाले उनको पार्टी प्रवेशलाई ठूलै प्रचार गरायो । तर, चितवनमा भने उनलाई तीन वर्षदेखि कुनै भूमिका नदिइएको, पार्टी उम्मेदवारमाथि अन्तर्घात गरेको, पार्टी संगठनमा सक्रिय नभएको भन्दै कारबाहीको तयारी भइरहेको थियो । यही बीचमा उनी नेकपा प्रवेश गरेका हुन् ।

भुसाल परिवार भने कटिबद्ध कांग्रेसी हुन् । भुसालका पिता स्व. आनन्द भुसाल स्वयं पनि पर्वत जिल्लामा नेपाली कांग्रेसका संस्थापक, २०१७ सालपछि बीपीको निर्देशनमा पञ्चायतविरोधी क्रियाकलापमा सक्रियतापूर्वक सहभागी भएबापत टाउकोको मोल नै तोकिएका व्यक्ति हुन् ।

उनको नेकपा प्रवेशबारे परिवारकै सदस्यलाई पत्तो थिएन । जब उनी नेकपा प्रवेशको खबर पत्रपत्रिकामा आयो, अनि मात्रै उनीहरुले यो कुरा थाहा पाए । भुसाल नेकपा प्रवेश गर्नुलाई उनको परिवारले कांग्रेसमाथि राजनीतिक बेइमानी भएको निष्कर्ष निकाल्दै पार्टीमा फर्किन आग्रह गरेका छन् ।

भुसालकी श्रीमती शर्मादेवी भुसाललगायत उनका भाइ, दुई छोरा, एक दिदी, दुई भतिज, चार नाति र एक भान्जीले आइतबार संयुक्त प्रेस विज्ञप्ति निकालेर दुःख प्रकट गरेका छन् ।

भुसाल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अलि टाढाका नातेदार हुन् । प्रचण्डले चितवन ३ निर्वाचन क्षेत्रमा आफ्नो पक्कड बनाउन पनि भुसाललाई पार्टी प्रवेश गराएको बताइन्छ । तर, घरकै सदस्यले आपत्ति जनाएपछि भुसाल एक्लिएका छन् । उनका साथमा कुनै पनि कांग्रेस नेता कार्यकर्ता रहेनछन् भन्ने पुष्टि भएको छ ।