आफ्नै वडाका महिलालाई बलात्कार आरोपमा फरार रहेका वडाध्यक्षद्वारा आत्मसमर्पण

तनहुँ, ७ माघ । एक महिलामाथि बलात्कार गरेको आरोपमा फरार रहेका वडाध्यक्षले अदालतसमक्ष आत्मसमर्पण गरेका छन् ।

आफ्नै वडाकी महिलालाई बलात्कार गरेको आरोपपछि शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले अदालतमा आत्मसमर्पण गरेका हुन् ।

ती महिलाले रेग्मीले आफूलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय बेलचौतारामा गत मंसिर पहिलो साता जाहेरी दर्ता गराएकी थिइन् । महिलाले प्रहरीमा जाहेरी दिए लगतै रेग्मी फरार थिए । जाहेरी परेपछि अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय बेलचौताराले उनको खोजी गरिरहेको थियो ।

यसअघि नै वडाध्यक्ष रेग्मीले आफूलाई फसाउन खोजिएको दाबीसहित आरोप अस्वीकार गरेका थिए । आत्मसमर्पण गरेपछि उनीविरुद्ध महिलाको जाहेरीका आधारमा अदालतमा म्याद थप गरेर मुद्दा अघि बढाइने प्रहरीले जनाएको छ ।