शिक्षा विधेयक पारित गर्ने प्रस्तावमाथि छलफल हुनुअघि नै कांग्रेसद्वारा संसद बैठक अवरुद्ध !

काठमाडौं, ७ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको छ ।

कांग्रेसले चिकित्सा शिक्षा विधेयक पारित गर्ने प्रस्तावमाथि छलफल हुनुअघि नै संसद बैठक अवरुद्ध गरेको हो ।

कांग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पतालहरु केन्द्र सरकारको मातहतमा नराखेको विरोधमा कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो ।

बैठकको सुरुमै कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले समय मागेर बोलेका थिए । उनले कांग्रेसका नेताहरुको नाममा रहेका अस्पताल राजनीतिक पूर्वाग्रह राखेर खारेज गर्न लागिएको आरोप लगाए ।

संसद बैठकमा बोल्दै नेता गच्छदारले गोविन्द केसीसँग भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने माग पनि गरे ।