कुप्रथाको पराकाष्ठ: दाइजोले लियो आमा र नावालक २ बर्षीय छोरीको ज्यान

जनकपुरधाम। हाम्रो समाजमा अझै पनि कुप्रथाले जडो गाडेको छ । समाजमा अनेक किसिमका परम्परा रितिरिवाज, छुवाछुत, कुरुती, कु-प्रथाहरु विस्तारै निर्मुल भएपनि पूर्ण रुममा भैसकेको छैन । त्यस्तै,मध्येको एक हो दाइजो प्रथा जुन तराई मधेश समाजमा यसको जड अझै पनि उस्तै छ । दाइजो कै कारणले धेरै छोरीचेलीले अनाहकमा ज्यान बलि चढाउन बाध्य भएका छन् ।

सामान्य गरिब परिवारमा छोरीको जन्म भयो भने तराईमा अझै पनि अभिषाप मानिन्छ । दाइजो कै कारणले फेरी जनकपुरमा एक महिलाले आत्महत्या गरेकी छिन । साथै आफ्नो कलिला छोरीलाई पनि बिष सेवन गराए ।

सुन्दा कुन जुगको कहानी जस्तो लाग्न सक्छ तर यो वास्तविक रुपमै घटेको घटना हो । जनकपुरधाम उपमहानगरपालिका -४ सरहन्चिया शान्तिनगरकी २५ बर्षीय सीमा शर्माले आफ्नो २ बर्षिया छोरीलाई विष खुवाई आफुले पनि आत्माहत्या गरेकी छिन् ।

महोत्तरीको लोहारपट्टी नगरपालिका-७ भ्रमरपुरा घर भएकी सीमाको २०७० साल वैशाख ११ गते महोत्तरीकै हलखोरी गाउँ बस्ने समिर मिश्रसँग परिवारकै राजीखुशीले विवाह भएको थियो।

समिरका बुबाको घर जनकपुरमा समेत रहेकोले विवाहपछि सीमापनि जनकपुरनै बस्दै आइरहेकी थिइन्। विवाह भएको एक वर्षसम्म सबैकुरा ठिकठाकै रहेपनि दोस्रो वर्षदेखि सीमामाथि दाइजो ल्याने दबाब बढ्न थाल्यो।

घर परिवारमा दाइजो नपुगेको भन्दै यातना दिन थालेपछि अन्तत उनले विष सेवन गरेको प्रहरीले जनाएको छ। गत ३० पौषमा आफ्नै दुई वर्षिया छोरी गौरीलाई विष खुवाएर आफूले पनि विष सेवन गरिन्। सीमा र गौरी अब यस संसारमा छैनन्। उपचारका लागि अस्पतालमा भर्ना गरिएपनि डाक्टरहरुले उनीहरुको ज्यान बचाउन असफल भए।

सीमाका श्रीमान् समिर एरिस्टो कम्पनीमा ‘मेडिकल रिप्रन्जेटेटिभ’ को रुपमा बुटवलमा कार्यरत छन्। छुट्टी मिलाएर आफ्नो घर जनकपुर आउने गरेका उनी सीमा र छोरी गौरीको मृत्युपछि फरार भएका छन्।

सामान्य आर्थिक अवस्था रहेको सीमाका बुबा जयनारायण शर्मा वैदेशिक रोजगारको सिलसिलामा खाडी मुलुक बस्दै आएका थिए। एकमात्र छोरी सीमा भएकाले उनले विहेबारीपनि धुमधामका साथै गरे।

सीमाको विहेगर्न गाउँको सात कठ्ठा जग्गा बेचेर उनले ८ लाख नगद, २ लाख २५ हजार पर्ने मोटरसाइकल तथा सुनचाँदीका गहना केटा पक्षलाई दिएको भाइ सुजित शर्माले बताए। विहे गर्दा सीमाको ससुरा पक्षले मागेअनुसार दाइजो दिँदापनि उनीहरुलाई सन्तोष भएन। र, दाइजो ल्याउन पटकपटक सीमालाई उनीहरु दबाब दिँदै आएको सुजितको भनाइ छ।