थुप्रै नेपाली चेलीहरुलाई खाडी मुलुकमा बेच्ने लामा भारतबाट पक्राउ

काठमाडाैँ । रोजगारीको लागि विदेश पठाऊछु भन्दै नेपाली युवतीहरुलाई ललाई फकाई खाडी मुलुकमा बेच्ने ३३ वर्षीय लोप्साङ लामा पक्राउ परेका छन् । प्रहरीको खोजीमा रहेका लामा ओखलढुङ्गा स्थायी हुन् ।

गत बर्षको जुलाई २५मा दिल्ली महिला आयोग (डिसीडब्लू) की प्रमुख स्वाति मालीवालले वसन्त विहारको मुनिरका गाँउबाट १६ नेपाली युवतीको उद्दार गरेकी थिइन् । लामाले नै यी महिलाहरुलाई तेस्राे मुलुक लैजाने तयारी गरेका थिए । उनी त्यतिबेला देखि नै फरार थिए ।

विहार प्रहरीका डेपुटी कमिसनर सन्जिब कुमार यादवका अनुसार उद्दार गरिएका महिलाहरुलाई लामाले भाडामा लिएको घरमा २०-२२ दिनसम्म राखेका थिए । लामाले ती महिलाहरुलाई विभिन्न काममा लगाइ दिने भन्दै खाडी मुलुक लैजाने तयारी गरेका थिए । उनले ती महिलाहरुको पासर्पोट समेत आफैले राखेका थिए ।

लामाले ५ महिलालाई कुवेत र दुई महिलालाई इराकमा बेचीसकेको समेत उद्दार भएकी एक महिलाले बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।