मध्येरातमा टोखामा कार र मोटरसाइकल ठोक्कियो : एकजनाको मृत्यु, अर्का गम्भीर !

काठमाडौँ, ७ माघ । काठमाडौंको टोखामा गएराति कार र मोटरसाइकल एकापसमा ठोक्किंदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा परी अर्का एकजना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा बसुन्धारा बस्ने स्याङ्जा, चापाकोट नगरपालिका –१० का १८ वर्षीय सफल माझी रहेका छन् ।

कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा पछाडी सवार माझीको उपचारको क्रममा मृत्यु भएको हो । घाइतेलाई ग्रिनसिटी अस्पताल धापासी लागिएकोमा राति करिब १२ बजे उनको मृत्यु भएको जनाइएको छ ।

प्रहरीका अनुसार गए राति ११ बजे बा८च ८७६२ नम्बरको कार र बा६६प ५४२५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २२ वर्षीय प्रकाश बस्यालको ग्रिनसिटीमै उपचार भैरहेको प्रहरीले बताएको छ।

कार र कार चालकलाई महानगरीय प्रहरी वृत्त महाराजगंजले नियन्त्रणमा लिएको छ ।