मध्येराती भुस बोकेको ट्रक त्रिशूलीमा खस्यो : चालक बेपत्ता, सहचालकले पौडेर ज्यान बचाए

रत्ननगर, ७ माघ । त्रिशूली नदीमा भुस बोकेको ट्रक खस्दा चालक बेपत्ता भएका छन् ।

चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको ना ३ ख १८३ नंको ट्रक पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको हो ।

गए राति ११ः२५ बजे ट्रक आफैँ अनियन्त्रित भई नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका छन् भने सहचालक २० वर्षीय सुरज गुरुङले नदीबाट पौडेर ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए ।

बेपत्ता चालकको खोजीकार्य भइरहेको चितवन प्रहरीले जनाएको छ ।