नाङ्लोमा ब्यापार देखि ट्याक्सी चालक सम्म, साहसिक महिला ट्याक्सी चालकको जीवन कथा : भन्छिन – ट्राफिक प्रहरीले सुन्न नसक्ने अपशब्द बोल्छन्

भक्तपुर। ईश्वरी थापा महिला ट्याक्सी चालक हुन्। उनले ट्याक्सी चालकको रुपमा काम गर्न थालेको ९ वर्ष भइसकेको उनको भनाई छ। यो भन्दा अघि उनले आफ्नो जीवनमा थुप्रै कामहरु गरिन्।

तेह्र वर्षअघि ईश्वरी थापा गैह्री गाउँमा मासु पसल चलाउँथिन्। मासुका लागि उनले सिन्धुपाल्चोकबाट ८५ वटा खसी, बोका ल्याएकी थिइन्। हरेक दिन दिउँसो तिनलाई चराउन तीनकुनेको खाली चौरमा लैजान्थिन्। सधैं उनी खसी लिएर पुग्दा अर्की महिला कार लिएर आउँथिन्। उनले चौरमा खसी चराउँदा ती महिला भने कार घुमाउँथिन्।

सडकमा महिलाले गाडी हाँकेको दृश्य निकै कम देखिन्थ्यो। त्यसैले हुनुपर्छ, गाडी सिकिरहेकी ती महिलाले ईश्वरीको ध्यान तानिन्।

उनलाई गाडी हाँक्ने हुटहुटीले छोयो। बिहान बेलुकी समय निकालेर गाडी सिकिन्। मासु बेचेर कमाएको पैसा घर भाडा र रासन पानीमा खर्च हुन्थ्यो। यसपटक गाडी सिकाइमा २५ हजार खर्चिन्। पाँच महिना सिकेर ट्रायल दिइन्। पास भइन्, लाइसेन्स हातमा पर्‍यो। खुशीको सीमा रहेन।

‘लागेको थियो, हातमा सीप र लाइसेन्स भएपछि जिविको चलाउन गाह्रो हुँदैन। गाडी चलाएर कमाउने सोचेको थिएँ,’ ईश्वरी खुशीसँगै निम्तिएको निराशाको कथा सुनाउँछिन्, ‘कुनै साहुले गाडी दिन विश्वास गरेनन्, महिला भएकै कारण।’

उनले ट्याक्सी साहुहरुलाई आग्रह गरिन्। कसैले पत्याएनन्।

एकपटक चिनेको ट्याक्सी ड्राइभरले भर गरेर ट्याक्सी चलाउन दिए। तीनकुनेमा प्यासेन्जर कुर्दै थिइन्। एकजना आएर टिचिङ अस्पताल महाराजगंज जानुपर्ने बताए। ट्याक्सी लिन आउने युवक कामदार रहेछन्। उनले काम गर्ने घर पुग्दा गाली पो खाए। महिला चालक भएको ट्याक्सी ल्याएको भन्दै एक महिलाले उनीमाथि हात नै छाडिन्। तिनै महिलाको श्रीमानलाई शिक्षण अस्पताल लैजानुपर्ने रहेछ। उनी एउटा खुट्टा खोच्याउँदै आए र भने – महिलाले हाँकेको ट्याक्सी चाहिँ ठाउँमा पुग्दैन र?

‘उनी आएर ट्याक्सीमा बसे। मिटरमा ६ सय रुपैयाँ उठेको थियो। हजार रुपैयाँ दिएर गए,’ उनले सम्झिइन्।

फाट्टफुट्ट अरुको ट्याक्सी चलाएर न कमाइ राम्रो हुन्थ्यो। न त घर नै चल्थ्यो। त्यसैले उनले लाइसेन्स थन्काइन्। गुजारा चलाउन लुगा सिलाई देखि अनेक सीप सिकिन्, होटलदेखि किराना पसल खोलिन् तर कमाई भएन। अनि, किस्ताबन्दीमै लिएर भए पनि गाडी नै चलाउने अठोट गरिन्, लाइसेन्स निकालेको पाँच वर्षपछि।

मासु बेचेर कम्तिमा पनि एक डेढ लाख भयो होला भन्ने आशा थियो, उनको। हिसाब गर्दा पचास हजारमात्र रहेछ। सानो मन, ठूलो आशा लिएर पुगिन्, पेप्सिकोलाका जीवन खड्काकहाँ। उनी फाइनान्स मार्फत् गाडीहरु किनबेच गर्थे। सुरुमा ईश्वरी पुग्दा उनी पनि हच्किएका थिए।

‘गाडी ठोक्ला, कसैलाई हान्देला भन्ने डर होला। त्यसमाथि मसँग पैसा पनि पचास हजार मात्र थियो,’ उनले सुनाइन्, ‘मैले भनेँ, ल मैले आफै केही गर्न खोजेको हुँ। विश्वास लाग्छ भने दिनुस् होइन भने ठीक छ।‘

जीवन सकारात्मक बनिदिए। उनले – ‘मान्छे नहान्नुस् अरु जे गर्नु हुन्छ तपाईंकै जिम्मा’ भनेर गाडी दिए। त्यसको २२ दिनपछि एक लाख रुपैयाँ ऋण लिइन्। डेढ लाख रुपैयाँ दिएर गाडी लिएको कागज बनाइन्।

बा १ ज ८९२९ नम्बरको ट्याक्सी उनको भयो। त्यसयता भक्तपुर, बानेश्वर, कोटेश्वर वरपर उनी ट्याक्सी लिएर देखिन थालिन्- सायद, पहिलो महिला ट्याक्सी ड्राइभर।

काभ्रेपलाञ्चोक रोसी गाउँपालिकाकी ३६ वर्षीया ईश्वरीकी एक छोरी छिन्, १२ मा पढ्दै। श्रीमान बासु थापाले दोस्रो विवाह गरेपछि छोरीको सम्पूर्ण जिम्मेवारी उनको काँधमा पर्‍यो,। १३ वर्षको उमेरमा विवाह गरेर काठमाडौं आएकी ईश्वरीले ज्यामी कामदेखि नाङ्लो पसलसम्म सबै भ्याइन्। दु:ख मिहेनत गर्दा पनि जीवन सहज चलेन। संघर्षको विकल्प अरु केही थिएन पनि। तर, उनले न त श्रीमानको बाटो हेरिन् न त जिविका चलाउन कसैको भर परिन्।

‘एक्लो भएपछि जिम्मेवारी थपियो। ती जिम्मेवारीबाट भाग्ने सोच कहिले पनि आएन। त्यसैले यो नभए त्यो, त्यो नभए यो गरेँ, ’ उनले खुशी साटिन्, ‘लास्टमा ट्याक्सीमा राम्रो भयो।

‘राम्रो भयो’ को अर्थ उनले धेरै पैसा कमाइन् भन्ने चाहिँ होइन। ट्याक्सी पुरानो भयो, चलाउन पाउने अवधी ५ वर्षमात्र बाँकी छ। ट्याक्सीको लोन ७ लाख अझ तिर्नै बाँकी छ।

‘त्यसपछि के हुन्छ सोचेको छैन।’

उनी बिहान ४ बजे नै ट्याक्सी लिएर निस्किन्छिन्। बेलुकी अबेरसम्म प्यासेन्जर कुर्छिन्। यसरी काम गर्दा दैनिक छ, सात सयदेखि दुई हजार रुपैयाँसम्म आम्दानी हुन्छ। ट्याक्सीको खर्च, लोन काटेर बचेको पैसाले उनको घर चल्दै आएको छ।

ट्याक्सीले ईश्वरी र उनको छोरीको मात्र दैनिकी सहज बनाएन। उनले जिम्मेवारी लिएका अनाथ तथा असहाय बालबालिकालाई पनि आश्रय दिइन्। आमा बुबा दुवैले छाडेर गएका पाँचजना बालबालिकालाई आफूसँगै राखिन्। ती सबै बच्चाले उनलाई ‘मम्मी’ भन्छन्।

‘मैले धेरै पैसा भएर ती बच्चाहरु ल्याएर राखेको होइन,’ उनले भनिन्, ‘आफूले जुन दु:ख भोगेँ त्यस्तै दु:ख अरु कसैले भोग्न नपरोस् भनेर ल्याएकी हु। म अरुको दु:ख देख्न सक्दिन।’

हाल ती बालबालिका खोटाङस्थित आवसायी विद्यालयमा छन्। लामो बिदा र चाड पर्वमा ईश्वरीकहाँ आउँछन्। त्यतिखेर उनी ट्याक्सी उनीहरुलाई घुमाउन निस्किन्छिन्। यी सब भइरहँदा ईश्वरीले अनेक अप्ठ्याराहरु पनि भोगेकी छिन्।

कतिपटक यात्रुसँग खटपट पर्छ। कतिपटक मोटरसाइकल चालकसँग र ट्राफिक पुलिससँग पनि। तर, यस्ता विवादहरुमा अल्झिन र कमजोर महसुस गर्न छोडिसकेकी छिन्। १३ वर्षको सानो उमेरमै भागी विवाह गरेर आएकी उनले विवाह भएको केही वर्षपछि नै श्रीमानसँगको खटपट सहनु पर्‍यो। मिलाउने कोशिश गर्नुपर्‍यो। सकिनन्। अन्तत सहमतीमै छुट्टिइन्। श्रीमानले चाहेको महिलासँग पठाएर।

समय र परिस्थितिले उनलाई बलियो बनायो। उनी बलियो भइन् र त ट्याक्सी लिएर सडकमा निस्किइन्। उनी निस्किइन् र त अरु महिलालाई पनि हौसला मिल्यो। कुनै समय उनलाई ट्राफिक प्रहरीको ज्यादती र भाडा समायोजनको कुराले निक्कै निराश पार्छ। सोहि समय उनलाई बेकार चालकको पेसा अङ्गालेछु जस्तो पनि लाग्छ।