अफिसमा काम गर्दा यि व्यायाम गर्नाले शरीरलाई हुन्छ धेरै फाइदा

अफिसमा निरन्तर एकै ठाउँमा बसेर काम गर्दा हाम्रो शरीर दुख्ने गर्छ । लगातार काम गर्दा विभिन्न हाडजोर्नी दुख्ने समस्या हुने गर्दछ । त्यसैले अफिसमा काम गर्दा आफ्नो शरीरको राम्ररी ख्याल गर्नुपर्छ । यस्ता समस्यालाई हामीले सामान्य रुपमा लिन हुदैन । यसले पछि हामीलाई निकै ठुलो समस्या दिने काम गर्छ । यदी हामीले अफिसको समयमा पनि हल्का खालका व्यायाम गरिम भने हाम्रो शरीरलाई फाइदा हुने गर्दछ । पछी गएर दुख पाउनु भन्दा अहिले नै बुद्धि पुर्याउनु राम्रो हुन्छ ।

अफिसमा गर्ने खालका केही सामान्य व्यायाम यस प्रकारका छन् :

१) सही बसाइ : अफिसको कुर्सीमा बस्ने तरिका नै सबै समस्याको जरो हो । काम गर्दा काँध र कम्मर झुकाउनेगरी बस्दा काँध, गर्दन र मेरुदण्डको हाडका समस्या आउन थाल्छ । त्यसैले बीचबीचमा उठ्ने र बस्दा पनि शरीर सिधा राख्ने बानी बसाल्नुस् ।

२) अनुहार र आँखा : आँखाको नानीलाई दायाँबायाँ, तलमाथि अनि गोलो गरी घुमाउनुस् । अनि दश सेकेन्डसम्म छतमा हेरिरहनुस् । त्यसपछि भुइँमा हेर्नुस् अनि अलि परको भित्तोमा हेर्नुस् । त्यसपछि आधी मिनेटका लागि आँखा बन्द गर्नुस् । अब हत्केला घोटेर तताउनुस् र आँखामाथि १० सेकेन्डसम्म राख्नुस् । हत्केलालाई आँखा र अनुहारमा दल्नुस् । यसो गर्दा थाकेका आँखा र सुस्त भएको अनुहार ताजा हुन्छ ।

३) मुख र कान : मुख फुलाएर हावा भर्नुस् अनि हावालाई केही सेकेन्डसम्म दायाँबायाँ घुमाउनुस् । त्यसपछि पाँचचोटि मुख खोल्ने र बन्द गर्ने गर्नुस् । दुवै कानलाई माथि र तल तीनचोटि तान्नुस् । हातका दुई औंलाहरूलाई कैंची जस्तो बनाएर कानमा घोट्नुस् । यसो गर्दा तपाईंको आलस्य पनि भाग्छ ।

४) गर्दन : कुर्सीमा बसीबसी आफ्नो गर्दनलाई १५ सेकेन्डसम्म माथि अनि अर्को १५ सेकेन्डसम्म तल पार्नुस् । त्यसपछि गर्दनलाई दाहिनेतर्फ घुमाएर बिस्तारै देब्रेतर्फ घुमाउनुस् । यो प्रक्रिया दोहो–याइरहनुस् । यसो गर्दा गर्दन अररो हुन पाउँदैन ।

५) कम्मर : दाहिने गोडालाई देब्रे गोडामा क्रस गरेर बस्नुस् र कम्मरलाई विपरीत दिशामा घुमाउनुस् । त्यसैगरी देब्रे गोडालाई दाहिने गोडामा क्रस गर्नुस् । कम्मरलाई पछिल्तिर पनि झुकाउनुस् । यसो गर्दा कम्मर अररो हुन पाउँदैन ।