(नेकपा) का नेता पशुपति चौलागाईंलाई पितृ शोक :पिता चन्द्रप्रसाद चौलागाईंको ८६ वर्षको उमेरमा आज निधन

काठमाडौँ, ६ माघ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा दोलखाका प्रदेशसभा सदस्य पशुपति चौलागार्इंका पिता चन्द्रप्रसाद चौलागाईंको ८६ वर्षको उमेरमा आज निधन भएको छ ।

दोलखाली कम्युनिष्ट आन्दोलनमा सक्रिय भूमिका खेल्नुभएका चौलगाईं लामो समयदेखि श्वासप्रश्वासको समस्याबाट पीडित हुनुहुन्थ्यो । घरमै विगत सात वर्षदेखि अक्सिजन दिएर राखिएकामा शनिबार अचानक स्वास्थ्य अवस्था खराब भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । उहाँका छोरा हेमन्त चौलागार्इंका अनुसार अस्पतालमा उपचार नभएपछि पशुपति आर्यघाटस्थित वैद्य अस्पतालमा उपचारका लागि राखिएको थियो । सोही क्रममा आज उहाँको निधन भएको हो ।

चौलागाईलाई श्रद्धाञ्जलि अर्पण गर्न पूर्वप्रधानमन्त्री तथा नेकपाका नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित नेकपाका नेता तथा कार्यकर्ता पशुपति आर्यघाट पुग्नुभएको थियो । उहाँको आजै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्यष्टि गरिएको छ । श्रद्धाञ्जलि दिन नेकपा दोलखाका नेताहरु आनन्दप्रसाद पोखरेल, पार्वत गुरुङ, देवी खड्का, विश्व कार्की, विशाल खड्कालगायत नेता आर्यघाट पुग्नुभएको थियो । उहाँका तीन छोरा र दुई छोरी हुनुहुन्छ ।रासस