पोखरा फिर्केको मापदण्ड ३ मिटर कायम गर्न माग

चिप्लेढुङ्गा, ६ माघ । पोखरा फिर्के संरक्षण तथा मापदण्ड सरोकार समितिले फिर्के खोलाको मापदण्ड खोलाको मध्यभागबाट तीन तीन मिटर कायम गर्न आज महानगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

समितिका संयोजक नारायणविक्रम शाही र सहसंयोजक कृष्ण पराजुली (ढाकामोहन) द्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा विभिन्न सञ्चारमाध्यमबाट फिर्केको मापदण्ड १० मिटर बनाउन लागिएको जानकारी आएको भन्दै स्थानीय बासिन्दामा अन्योल सिर्जना भएको उल्लेख गरिएको छ ।

ध्यानाकर्षणपत्रमा निर्णय गर्दा सरोकार भएकाहरुको सहभागिता र सहमति आवश्यकता पर्छ कि पर्दैन भन्दै फिर्के खोलाको मध्य भागलाई केन्द्र बनाई दायाँबायाँ तीन तीन मिटर मापदण्ड कायम गर्न न्यायसङ्गत हुने भनी ध्यानाकर्षण गराइएकोे संयोजक शाहिले बताउनुभयो । रासस