स्वास्थ्यचौकी बनाउन वडाध्यक्षबाट निःशुल्क जग्गा

बेत्रावती, ६ माघ । नुवाकोटको सूर्यगढी गाउँपालिका–१ का वडाध्यक्ष इमानसिंह तामाङले वडा नं १ मा अवस्थित लच्याङ स्वास्थ्य चौकी निर्माणका लागि आवश्यक जग्गा आज निःशुल्क उपलब्ध गराउनुभएको छ ।

नेपाल सरकारले भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत स्वास्थ्य चौकीको भवन बनाउन रु दुई करोड २५ लाख बजेट छुट्याए पनि जग्गा अभावले निर्माण कार्यमा ढिलाई भएको थियो । वडाध्यक्ष तामाङले हाल स्वास्थ्य चौकी रहेको स्थान नजीकै सोलेमानेमा जग्गा प्रदान गरेसँगै निर्माणका लागि प्रक्रिया अघि बढाउन सहज भएको छ ।

“भवन बनाउन बजेट आए पनि जग्गा नहुँदा निर्माण अनिश्चित भइरहेको थियो,” उहाँले भन्नुभयो, “सार्वजनिक जग्गामा भवन बनाउन नपाइने र जग्गा खरीद गर्न बजेटसमेत नभएपछि उक्त रकम फिर्ता हुनबाट जोगाउन आफँैले निःशुल्क जग्गा प्रदान गरेको हो ।” स्वास्थ चौकीलाई उपलब्ध गराएको जग्गा स्थानीय चलनचल्तीमा रु पाँच लाखभन्दा बढी पर्दछ । नयाँ भवन बनाउन एक रोपनी जग्गा आवश्यक पर्ने भए पनि जिल्ला मालपोत कार्यालयबाट एक रोपनी चार आना जग्गा वडाध्यक्षबाट प्राप्त भएको स्वास्थ्य चौकीका इञ्चार्ज सरस्वती पौडेलले बताउनुभयो । उहाँको अनुसार भूकम्पले क्षति पुगेको लच्याङ स्वास्थ्य चौकी हाल अस्थायी भवनबाट सञ्चालनमा रहेको छ ।

“भवन अभावमा स्वास्थ्य चौकीले सञ्चालन गर्दै आएको बर्थिङ सेन्टर (सुरक्षित प्रजनन केन्द्र) प्रभावकारी बनाउन चुनौती हँुदै आएको थियो,” पौडेलले भन्नुभयो, “अब बन्ने नयाँ भवनमा चौबिसै घण्टा सेवा उपलब्ध गराउन स्वाथ्यकर्मीलाई आवासीय व्यवस्थासहित बर्थिङ सेन्टरसहित प्रयोगशाला सेवा लगायतका सुविधा उपलब्ध गराउन लागिएको छ ।” लच्याङ स्वास्थ्य चौकीमा हेल्थ असिसेन्टको नेतृत्वमा पाँच जना कर्मचारी कार्यरत छन् । कोठाको अभावले अस्थायी भवनबाट बिरामीलाई गुणस्तरीय सेवा दिन, औषधि भण्डारण गर्न तथा थप सेवा विस्तार गर्न कठिनाइ हँुदै आइरहेको छ । रासस