लौ न अब खुकुरीमा धार लगाउनुप¥यो …

  • रामबहादुर थापा

बागलुङ, ६ पुस । पुसको ठिही । रसिला–चोटिला सिर्जनाले शनिबार गर्मायो । विविध रचनाका रसस्वादनमा यहाँका वाङ्मयप्रेमी औधि खुशी हुनुभयो । ‘एक मञ्च, तीन सर्जक’ कार्यक्रममा कवि, गजलगो र मुक्तककारले आफ्ना रचना पस्किदा सयम व्यतित भएको पत्तै भएन ।

काव्यका विविध विधालाई साहित्य पारखीले एकै मञ्चमा प्रस्तती दिनुभयो । कार्यक्रमको तारतम्मे मिलाएको थियो, हातेमालो साहित्य सङ्गम बागलुङ शाखाले ।

पर्वतका कवि ओमप्रसाद घायल, म्याग्दीका गजलगो शङ्कर चोखाल र बागलुङका मुक्तककार ताराप्रसाद शर्मा ‘स्टार’ रचनासाथ मञ्चस्थ हुनुभयो । मञ्चमा घायलले छ कविता, चोखालले नौ गजल र शर्माले १५ मुक्तक प्रस्तुती गर्नुभयो ।

‘घरमा आगो लाग्यो भने दमकल आउँछ

जब दमकलमा आगो लाग्छ केले निभाउँछ ।’

गजलगो चोखालले सुनाएको पहिलो शेरमै गजलप्रेमी मुग्ध हुनुभएको थियो । दर्शकदीर्घाबाट ताली गुञ्जियो । उहाँले बाँकी गजलका बाँकी शेर यसरी सुनाउनुभयो–

‘ल तपाईँ भनिदिनुस् त एउटा अनुत्तरित प्रश्न सोध्छु

तपाईँलाई आलरामले उठाउँछ कि कर्तव्यले उठाउँछ ।’

प्रणय भावमा गजलो चोखाल यसरी अभिव्यक्ति राख्नुभयो–

‘आँशु, आँशु मात्रै भएको छैन, नदी भएको छ

तिमीलाई सम्झिरहनु पनि त प्रगति भएको छ’

तीनै सजर्ककका रचनाले जीवन र जगतका विविध विसंगति र विकृतिलाई समावेश गरेको थियो । विसङ्गतपूर्ण राजनीति, अव्यवस्थादेखि मानवीय प्रेम र संवेदना सिर्जनामा मुखरित भएको प्रतित हुन्थ्यो ।
कवि घायलले आमाप्रति समर्पित कविता सुनाउँदा प्रेक्षालयमा सन्नाटा छायो । श्रोता भावुक बनिरहेँ ।

‘डाँडामा घाम डुब्नुअघि

सडकको पर परसम्म आँखाहरु ओछ्याएर

तिमीले त्यसरी नै

कुर्दीहौली आमा मेरो निठुर बाटो

तर तिमीलाई उधारो भाखा दिएर

म पनि जल्दैछु, एउटा पश्चतापको अग्नि ।’

उहाँले आमा, फूलमाया, बलेवामा जहाजलगायतका शीर्षकका रचना वाचन गर्नुभयो । २७ वर्षदेखि बन्द बागलुङको बलेवा विमानस्थल सञ्चालनमा आउँदाको अनुभूति उहाँको कवितामा यसरी प्रकट हुन्छ–

‘कुनै बेला बलेवाको आकाशमा जहाज उड्दा

मेरी हजूरआमाले भन्नुहुन्थ्यो

ए हवाईजहाज मेरो नातिलाई पैसा फालिदे

हजूरआमाको त्यो भनाइ सुनेर

मेरो बाल मष्तिस्कमा

एउटा सपनाको अङ्कुरण भएको थियो

त्यो जहाजले कुनै दिन

मेरा लागि पैसा फालिदिनेछ ।’