कृषि उत्पादनमा आत्मनिर्भर बन्दै बाँकेको खजुरा

बाँके, ६ माघ । बिहान घाम नझुल्कँदै भारतीय बजार रुपैडियाबाट साइकलमा तरकारी बोकेर व्यापारी खजुरा क्षेत्रका गाँउगाउँमा आउने गरेको खजुरा गाउँपालिका–३ का कृषक पदम रानाले बिर्सिनुभएको छैन । रुपैडियाको तरकारी तथा फलफुल किनेरै साँझ–बिहानको छाक टार्ने रानाको खेतबारीमा आज भोलि भने बाह्रेमासे तरकारी फल्छ । उहाँ आफूले फलाएको तरकारी खानको लागि मात्र प्रयोग गर्नुहुन्न ।

उत्पादन भएको तरकारी स्थानीय बजारमा बिक्रीसमेत गर्ने गर्दै आउनुभएको छ । वार्षिक तीन हजार क्विन्टलभन्दा बढी तरकारी बिक्री गर्ने गरेको राना बताउनुहुन्छ । कृषक रानामात्र नभएर खजुरा गाउँपालिकाका–८ वटै वडामा व्यावसायिक तरकारी खेती, कुखुरा, भैंसी, गाईन, बङ्गुर, बाख्रा, हाँस, माछापालनसहित विभिन्न फलफूल खेती पनि हुँदै आएको छ ।

अधिकांश किसानले व्यवसाय दर्ता गरेरै कृषि कर्म गरिरहेका छन् । कृषि उत्पादन बढ्दै जाँदा अहिले रुपैडियाबाट तरकारी तथा फलफूल बिक्री गर्न आउने क्रम रोकिएको छ । खजुराका स्थानीयले आफू र परिवारलाई आवश्यक पर्ने तरकारी, फलफूल तथा माछा मासु आफैँ उत्पादन गर्न थालेका छन् ।

खजुराका किसानले उत्पादन गरेको तरकारी, फलफूलदेखि मासु, दुध, अण्डासम्म खजुरा बजार, नेपालगञ्ज, कोहलपुर, बर्दिया, सुर्खेतसम्म निर्यातसमेत हुँदै आएको छ । खजुरा गाउँपालिका–४ डी गाउँका राजेन्द्र श्रेष्ठले पाँच हजार बढी लेयर्स कुखुरापालन गर्दै आउनुभएको छ ।

श्रेष्ठले जस्तै डी गाउँका एक दर्जन युवा कुखुरापालन गरेर आत्मनिर्भर बनेका छन् । खजुरा गाउँपालिका–३ मनकामनापुरमा प्रत्येक घरमा ४÷५ वटा उन्नत जातका गाईपालन गरिएको छ भने अधिकांशले व्यवसायिक रुपमा तरकारीखेती गर्दै आएका छन् ।

खजुरा–२ सितापुर तरकारी र फलफूल उत्पादनमा जिल्लामै अग्रस्थानमा रहँदै आएको छ । यहाँका किसानले सिजनमा २५ हजार क्विन्टल बढी गोलभेंडासमेत बिक्री गर्ने गरेका छन् । त्यस्तै आलु, काउली, भाण्टा, खुसार्नी, लौका, चिचिण्डा, बोडी, करेलालगायतका तरकारी नेपालगञ्ज, कोहलपुरका बजारमा बिक्रीका लागि लैजाने गरेको सितापुरका किसान वीरेन्द्र मुराउले बताउनुभयो ।

किसानले दूग्ध विकासमा टेवा पुग्ने गरी पनि दूग्ध उत्पादनलाई वर्षेनी वृद्धि गर्न व्यावसायिक पशुपालन गर्दै आएको खजुरा–३ मनकामनापुरका काशीराम कँडेलले बताउनुभयो । खजुरा क्षेत्रमा साविकको जिल्ला कृषि विकास कार्यालय, किसान परियोजना, साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको सहकार्यमा विभिन्न शीर्षकमा आधुनिक कृषि उत्पादनलाई बढुवा दिइएको छ ।

किसानलाई सक्षम बनाउन आइपिएम तालीमसमेत दिइएको छ । किसानलाई अग्र्रानिक तरकारी उत्पादन गर्न सहयोग गर्ने, कृषि बीमा कार्यक्रम सञ्चालन गर्ने, सोलार पम्प जडान गर्ने, व्यावसायिक तेल उत्पादनमा सहयोग गर्नेदेखि लिएर विदेशबाट फर्केर आएका युवालाई मागमा आधारित अनुदान दिने कार्यक्रम रहेको कृषि शाखाका प्रमुख सुरेन्द्र ठाकुरले जानकारी दिनुभयो ।

गाउँपालिकाले मिश्रित बालीको लागि पनि अनुदानको कार्यक्रम ल्याएको ठाकुरले बताउनुभयो । व्यावसायिक रुपमा कृषि पेशा गर्न चाहने किसानलाई खजुरा गाउँपालिकाले पनि सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । उहाँले भन्नुभयोे, “हामीले पहिलो वर्षमै साना किसानका लागि बीउबिजनका रुपमा रु पाँच लाख वितरण गरेका थियौँ ।’ अध्यक्ष कक्षपतिले केही वडालाई नमूना कृषि वडाका रुपमा विकसित गर्न लागिएको बताउनुभयो ।

प्रदेश नं ५ को कृषि, भूमि तथा सहकारी मन्त्रालयसँग समन्वय गरेर वृहत योजना ल्याउन लागिएको गाउँपालिकाले जनाएको छ । हाल खजुरा कृषि उत्पादनमा आत्मनिर्भर बन्दै गरेको अवस्थामा बेमौसममा पनि अन्य स्थानमा निर्यात गर्न सक्ने गरी वृहत योजना ल्याउन लागिएको अध्यक्ष कक्षपतिले बताउनुभयो । कृषि उत्पादनमा वृद्धि भैइरहेकाले यहाँ किसान आत्मनिर्भर भएर राम्रो आर्थिक आम्दानी गरिरहेका छन् ।

तरकारीसँगै मौरीपालन गर्दै यादव

मौरीले तरकारीको परागसेचन गर्ने भएकाले तरकारीको गुणस्तरता र उत्पादनमा समेत प्रत्यक्ष सहयोग पुग्दछ । तरकारी खेतीसँगै मौरीपालन गरिरहनुभएका गोपीप्रसाद यादवले भन्नुभयो । राधाकृष्ण तरकारी सङ्कलन केन्द्रका अध्यक्षसमेत रहनुभएका यादवले तरकारीको उत्पादन र गुणस्तरता बढाउन माहुरी पनि पाल्दै आएको बताउनुभयो । बारीमा लगाएको सागसब्जी, तरकारीको गुणस्तरता र यसको उत्पादन बढाउन तीन घार मौरीसमेत पालेको उहाँको भनाइ छ ।

“किसानका लागि यो विल्कुल नयाँ पद्धति हो”, यादवले भन्नुभयो । परागसेचनकै क्रममा मौरीले यहाँ लगाइएको तरकारीबालीको उत्पादन र गुणस्तरता वृद्धि गर्न ठूलो भूमिका खेलेको छ । विगतमा तरकारी खेतीमा विषादीको प्रयोग गर्थे, यसको बारेमा थाहा थिएन । माहुरीपालनले दोहोरो फाइदा भएको छ ।

रासायनिक मल प्रयोग नगर्न सुझाव पनि दिँदै उहाँले थप्नुभयो, “माहुरीबाट हामी मह पनि पाउँछौं । यसका साथै खेतबारीमा लगाएको तरकारीको उत्पादन र गुणस्तरतामा यसले सहयोग गरिरहेको छ । अहिले मैले सबैलाई यो तरिका सिकाइरहेको छु ।”

उहाँका अनुसार आफूले पनि विषादीरहित उत्पादन गर्दा उत्पादन पनि बढेको छ । विषादीयुक्त खाद्यान्न उपभोग गर्नु स्वास्थ्यका दृष्टिकोणले अत्यन्त हानीकारक मानिन्छ । “माटोको उर्वरशक्तिमा केही भएको छैन”, यादवले भन्नुभयो । रासायनिक मल प्रयोग गर्दा उत्पादनमा वृद्धि हुने भए पनि त्यसखाले उत्पादनले मानव शरीरलाई असर पार्नुका साथै माटोको उत्पादन शक्ति मा ह्रास आउछ ।

विषादीयुक्त मललाई निरुत्साहित गर्न राधाकृष्ण तरकारी सङ्कलन केन्द्रले जैविक मल उत्पादनमा समेत जोड दिएको छ । अध्यक्ष यादवका अनुसार उत्पादन गर्दै आएको जमीनमा जैविक मलको प्रयोग भइरहेको छ । खेर गएको तरकारी तथा गाईभैंसीको मलमूत्र प्रयोग गरी जैविक मल उत्पादन गर्ने उहाँको भनाइ रहेको छ ।

यसअघि सामान्य रुपमा जैविक मल उत्पादन गरिरहेको सङ्कलन केन्द्रले अहिले आधा कठ्ठा जमीनमा जैविक मल उत्पादनको तयारी गरिरहेको छ । कृषकले नै जैविक तयार गरेर त्यसलाई सहजै खेतबारीमा प्रयोग गरिरहेको केन्द्रले जनाएको छ । रासस