कैलालीमा भारतबाट भन्सार छली नेपाल भित्र्याउँदै गरेको सामानसहित चार जना पक्राउ

टीकापुर, ६ माघ । कैलालीमा भारतबाट भन्सार छली नेपाल भित्र्याउँदै गरेको सामानसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान प्रहरीचौकी कालाकुण्डा टीकापुरको टोलीले सामानसहित उनीहरूलाई पक्राउ गरेको हो । प्रहरी चौकी प्रमुख प्रहरी नायव निरीक्षक कुलबहादुर साउदका अनुसार करीब साढे चार लाखका कपडा र हार्डवेयरका सामान डनलपमा ल्याउँदै गरेका बेला पक्राउ गरिएको हो ।

सामानसँगै पक्राउ पर्नेमा टीकापुर नगरपालिका–८ का चक्र ठकुल्ला, २६ वर्षका दीपेन्द्र साउद, ३९ वर्षका राजकुमार चौधरी र ४० वर्षका राजकुमार चौधरी रहेका छन् । खक्रौला भन्सार कार्यालयका प्रमुख वसन्तकुमार केसीले सामान लिलाम गरिने र पक्राउ परेका व्यक्तिको बयान लिई कारवाही अगाडि बढाइने बताउनुभयो । रासस