दुई समूहबीच खुकुरी हानाहान हुँदा एकको मृत्यु, तीन जना घाइते

धनगढी, ६ माघ । कैलालीमा दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको अत्तरियामा शनिबार साँझ दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु हुनुका साथै तीन जना घैतेभेका छन् ।

मृत्यु गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमिल्सेनाले बताउनुभयो । मृतकको छाती र पेटमा धारिलो हतियारको घाउ लागेकाले दुई समूहबीच खुकुरी वा चक्कु हानाहान भएको हुनसक्ने जनाइएको छ ।

घटनामा घाइते भएका भट्टलाई तत्काल अत्तरियाको पद्मा अस्पतालमा लगिएकामा थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याउने क्रममा निजको बाटैमा मृत्यु भएको हो ।

घटनामा सोही ठाउँका सबिन कट्टेल, हरि राई र राजेश नेपाली घाइते भएका छन् । घाइतेको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।

अत्तरियामा केही दिनदेखि चलिरहेको महोत्सव सकिएको केही समयपछि यो घटना भएको हो । घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरी उपरीक्षक तिमिल्सेनाले बताउनुभयो ।