भाँडा साट्न गाउँ पसेकी महिलाद्वारा चार महिला लुटिए, उनीहरुको साथमा रहेको दश तोला सुन लुटेर भाँडा साट्ने महिला फरार !

कपिलवस्तु, ६ माघ । एक महिलाले लुटपाटको एक नयाँ तरिका अपनाएकी छन् । यो तरिका सुन्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्छ । कपिलवस्तुको शिवराज नगरपालिका ३, सुनवर्षी गाउँमा टाउकामा भाँडा बोकेर भाँडा साट्न हिंडेकी भन्दै गाउँ पसेकी एक महिलाले घर घरमा गएर महिलालाई एक्लै पाएपछि नजिक जान्छिन्, आशीर्वाद दिएजस्तो गर्छिन् । त्यसो गर्दा महिलाहरु लठ्ठिन्छन् र आफूले लगाएको गहना निकालेर ती अपरिचित महिलालाई दिन्छन् । तर परिवारका धेरै सदस्यहरु भएको घरमा भने ती महिलाले पुराना भाँडा खरीद गर्न आएको बताउँछिन् ।

भाँडा बोकेर आएकी अपरिचित महिला लक्ष्मी कँडेलको घर गइन् र पुराना भाँडा खरीद गर्न आएको बताइन् । भाँडा खरिद गर्ने निहँुमा घरमा आएका अपरिचित महिलाले कुराकानी गर्दै पिठ्यूँ सुम्सुमाएपछि आफ्नो चेतना गुमेको पीडित लक्ष्मी कँडेल बताउँछिन् । कँडेलको साथमा रहेको झन्डै तीन तोला सुन लिएर महिला फरार भएको उनले बताइन् ।

यसैगरी गरी ती महिला सोही गाउँकी सीता भुसाल, भूमिका कँडेल र पिङ्की खत्रीलाई समेत जादुटुना लगाएर अचेत बनाई गहना लुटेर फरार भएको पीडितहरुले बताएका छन् । चारै जनाको गरी झन्डै १० तोला सुनका गरगहना लुटेर अपरिचित महिला फरार भएको स्थानीयले बताएका छन् । शुक्रबार दिउँसो करीब १ बजे आएकी महिलाले जादुटुना लगाई गरगहना लुटी लगेको पीडितहरुको भनाइ छ । आफूहरु होस्मा आएपछि आफू लुटिएको थाहा पाएको पीडितहरु बताउँछन् ।

लगाएकै गरगहना लुटिएपछि महिलाहरुले वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएका छन् । स्थानीय महेन्द्र केवटले भाँडा साट्ने महिलाको तस्बीर समेत खिच्न भ्याएका थिए । पीडितहरुलाई त्यो तस्बीर देखाउँदा सोही महिला भाँडा साट्ने निहुँमा आएकी बताएका छन् । सोही तस्बीरकी महिलाले नै आफूहरुको गहना लुटपाट गरी फरार भएकी पीडितहरुको दाबी छ ।

पीडितहरुको किटानी जाहेरीका आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाले खोजी कार्यलाई तीव्र पारेको छ । पुरानो भाँडा किन्ने निहुँमा घरमा आउने अपरिचत व्यक्तिबाट सावधान रहन वडाप्रहरी कार्यालय चन्द्रौटाले अनुरोध गरेको छ ।