लगातारको खडेरीले बैतडीका विभिन्न स्थानका खेतीयोग्य जमीन बाँझै

बैतडी, ४ माघ । लगातारको खडेरीले बैतडीका विभिन्न स्थानका खेत बाँझै रहेका छन् । समयमा हिउँदे वर्षा नहुँदा खेत बाँझै छोड्नुपरेको किसानको गुनासो छ । सिँचाइको सुविधा नभएका ठाउँमा हिउँदे वर्षा नभएकाले गएको चार वर्षयता हिउँदेबाली लगाउन नपाएको पञ्चेश्वर गाउँपालिका–३ का बलराम तिरुवाले बताउनुभयो ।

पञ्चेश्वरको वडा नं १, २, ३, ४ र ६ मा अधिकांश खेत बाँझै रहेका पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो । चार वर्षयता किसान खेत बाँझै छोड्न बाध्य रहेका छन् । शिवनाथ गाउँपालिकाका पनि अधिकांश खेत सिँचाइको अभावमा बाँझै रहेका गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिनुभयो ।

गाउँपालिकाका उच्च भागमा सिँचाइको सुविधा नहुँदा किसान खेत बाँझै छोड्न बाध्य भएका उहाँले बताउनुभयो । हिउँदमा प्रत्येक वर्ष पर्ने खडेरीले किसानको जीविकोपार्जनमा समेत समस्या आएको छ ।

बैतडीको पञ्चेश्वर गाउँपालिकाले किसानलाई फलफूलका बिरुवा वितरण गर्न थालेको छ । किसानलाई फलफूलबाट आत्मनिर्भर बनाउने उद्देश्यले फलफूलका बिरुवा वितरण गर्ने कार्य शुरु गरिएको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो ।

प्रतिकिसान २० बिरुवाका दरले हिउँदे फलफूलका बिरुवा वितरण गर्न थालिएको उहाँले बताउनुभयो । ओखर, आरुबखडा, आरुलगायतका १० हजार बिरुवा वितरण गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ । पछिल्लो समयमा खडेरीका कारण किसानले खेतीपातीसमेत लगाउन नसकेकाले खडेरीका विकल्पका रुपमा समेत फलफूल बगैँचा हुन सक्ने अध्यक्ष चन्दले बताउनुभयो ।

पन्ध्र हजार जमीनमा सिँचाइ सुविधा छैन

बैतडीमा १५ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ सुविधा नहुँदा यहाँका किसान समस्यामा परेका छन् । सिँचाइ सुविधा नहुँदा अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । भिरालो जमीनमा ओसिलो पन नहुँदा सबै लगाएको अन्नबाली सुक्ने भन्दै हिउँदेयाममा किसानका खेतबारी बाँझै रहने गरेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो ।

हिउँदको समयमा खडेरी पर्दा किसान जमीन बाँझै छोड्न बाध्य भएका छन् । जमीन पर्याप्त भए पनि सिँचाइको अभावमा बाँझै राख्नुपर्ने बाध्यता छ । आकाशे पानीका भरमा लगाउँदा वर्षेनी बीउ नै नउठ्ने भएपछि हिउँदे याममा जमीन खाली राख्ने गरेका छन् ।

जिल्लाका सिँचाइ नभएका ठाउँमा खडेरीले प्रभाव पारेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो । जिल्लामा २५ हजार ५०० हेक्टर खेतीयोग्य जमीन भए पनि त्योमध्ये १० हजार हेक्टरमा मात्रै सिँचाइको सुविधा रहेको उहाँले बताउनुभयो ।

बादर आतङ्कले खेतीयोग्य जमीन बाँझै

बैतडी सदरमुकाम क्षेत्रमा विगत छ वर्षदेखि बाँदरले आतङ्क फैलाएको छ । दशरथचन्द नगरपालिकाको वडा नं ४, ५, ६, ७ र ८ वडामा बाँदरले आतङ्क फैलाएको वडा नं ५ का वडा अध्यक्ष नारायणप्रसाद भट्टले बताउनुभयो ।

बाँदरले खेतमा लगाएको बालीनालीदेखि भान्सामा पकाएको खानासमेत नष्ट गर्न थालेको दशरथचन्द नगरपालिका–८ त्रिपुराका हिम्मत चन्दले बताउनुभयो । वर्षांैदेखिको गाउँमा बादर आतङ्क छ उहाँले भन्नुभयो, “लगाएका अन्नबाली बाँदरले सखाप पार्न थालेपछि खेतीपाती गर्न छोडेका छौँ ।”

स्थानीयवासीले बाँदरका कारण खेत बाँझै छोडेका छन् । खेतमा लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि खेत बाँझो छोडेको स्थानीय तेजप्रकाश भट्टले जानकारी दिनुभयो । समूहमा आउने बाँदरले बालीनाली नष्ट गर्न थालेपछि धेरैजसोले बाली लगाउनसमेत छोडेको सुमित्रा चन्दको भनाइ छ । दशरथचन्द नगरपालिकाले तयार पारेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन योजना बाँदर आतङ्क पहिलो प्रकोपका रुपमा स्तरीकरण गरिएको छ । रासस